हिंसाबीच अफगानिस्तानमा आमनिर्वाचन सम्पन्न

1022
views

एजेन्सी । हिंसाबीच अफगानिस्तानमा आमनिर्वाचन सम्पन्न भएको छ । संसद्को तल्लो सदन बोलेसी जिर्गाका लागि भएको निर्वाचन दुई दिनमा सम्पन्न भएको हो । शनिबार सुरु भएको निर्वाचन हिंसात्मक गतिविधिपछि अधिकांश क्षेत्रमा स्थागित भएको थिए ।

स्थगित भएका र ढिलाइ भएका मतदान केन्द्रमा आइतबार निर्वाचन सम्पन्न भएको अफगानिस्तानको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनसँग सम्बन्धित हिंसामा १५० भन्दा बढीको मृत्यु भएको छ । तर, गृहमन्त्री वाइस बार्माकले निर्वाचन तुलनात्मक रूपमा शान्तिपूर्ण भएको दाबी गरेका छन् ।

अफगान निर्वाचन आयोगका अध्यक्ष अब्दुल बादी सयतका अनुसार शनिबारको मतदानमा ८८ लाख मतदातामध्ये जम्मा ३० लाखले मतदान गरेका थिए । सबैभन्दा बढी मतदान काबुलमा भएको थियो भने दक्षिणी उरुजगान प्रान्तमा मतदाताको संख्या न्यून थियो । आइतबार देशभरका ४०१ मतदान केन्द्रमा मतदान भएको छ ।

दुई प्रान्तमा एक सातापछि मतदान
गत साता तालिबान विद्रोहीको हमलामा प्रान्तीय प्रहरी प्रमुख अब्दुल राजिकको हत्या भएपछि स्थगित कान्दाहारमा एक सातापछि मतदान हुने भएको छ । सुरक्षाका कारण घाज्नी प्रान्तमा पनि मतदान स्थगन भएको छ ।

हिंसा नै हिंसा
संसद्को यस निर्वाचनमा २७ जना सर्वसाधारण र ११ जना सुरक्षाकर्मीको मत्यु भएको तथा एक सयभन्दा बढी घाइते भएको अधिकारीले बताएका छन् । अफगानिस्तानका मुख्य विद्रोही समूहहरू तालिबान र इस्लामिक स्टेट्सले निर्वाचन बहिष्कार गरेका छन् । उनीहरूले निर्वाचनको पूर्वसन्ध्यामा आक्रमणको शृंखला जारी राख्नुका साथै स्थानीयवासीलाई मतदान बहिष्कार गर्न आह्वान गरेका थिए । तालिबान विद्रोहीले मतदान केन्द्र, प्रहरी चौकी र सेनाको इलाकालाई लक्षित दुई सय ५० आक्रमण गरेका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयले शनिबारको मतदानमा देशभर एक सय ९२ वटा आक्रमणका घटना भएको जनाएको छ । कुन्दुज प्रान्तमा पनि तीनवटा रकेट आक्रमण गरिएको, तर त्यसबाट मानवीय क्षति भने नभएको बताइएको छ । काबुलमा भएका विस्फोटमा चारजनाको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले जानकारी दिए ।

सर्वसाधारणको उल्लेख्य सहभागिता
तालिबान विद्रोहीको चेतावनीका बाबजुद लाखौँ सर्वसाधारणले मतदानमा सहभागिता जनाएका थिए । लामो समयको प्रतीक्षापछि संसद्को तल्लो सदन बोलेसी जिर्गाको दुई सय ४९ सिटका लागि दुई हजार पाँच सयजनाले उम्मेदवारी दिएका थिए । निर्वाचन बिथोल्ने तालिबान विद्रोहीको योजना विफल पार्न निर्वाचनमा ५० हजारभन्दा बढी सुरक्षा अधिकारी तैनाथ गरिएको थियो ।

निर्वाचनका लागि ३० लाख महिलासहित करिब ९० लाख व्यक्तिले मतदाता नामवलीमा आफ्नो नाम दर्ता गरेका थिए । निर्वाचनका लागि एक करोड २० लाख व्यक्ति मतदानका लागि योग्य थिए । तीमध्ये ९० लाखले मात्र आफ्नो नाम दर्ता गरेका हुन् । अफगानिस्तानको तल्लो सदनमा निर्वाचित सदस्यको कार्यकाल पाँच वर्षको हुने गरेको छ ।