पर्वत, १८ कार्तिक । पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दाना (बाला) नलागेपछि पर्वतको फलेवास नगरपालिका–३ का किसान चिन्तामा परेका छन् ।
फलेवास–३ पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत भनिएको ‘लोकतन्त्र’ जातको धानमा दाना नलागेपछि दर्जनौँ कृषक समस्यामा परेका हुन् । उन्नत जातको भन्दै फलेवास नगरपालिकाको कृषि शाखाले लोकतन्त्र जातको धान सिफारिश गरेको थियो ।
विगतमा स्थानीय मार्सी र कोदे गुडुरालगायतको धान लगाउँदै आएका पोखराचौर र आँगाखेतका करीब दुई दर्जन किसानले यस पटक ‘लोकतन्त्र’ जातको धान लगाएका थिए ।
किसानले करीब १०० रोपनी खेतमा ८० किलो लोकतन्त्र धानको बीउ रोपेका हुन्। अन्य जातका तुलनामा दोब्बर फल्ने र बोट हावाहुरीमा पनि नढल्ने भन्दै प्राविधिकले सिफारिश गरेका थिए ।
स्थानीय पूर्णप्रसाद भुसाल, अस्मिता भुसाल, श्याम भुसाल, अमृत रिजाल, नारायण रिजाल, रिमा रिजाल, गङ्गा भुसाल, गीता भुसाल, नारायण भुसाल, गणेश भुसाल, टीका रिजाल र दुर्गा रिजाललगायतले आफ्ना खेतमा लोकतन्त्र लगाएका थिए ।
नगर कृषि कार्यालय फलेवासका प्रमुख कृषि अधिकृत नारायण पौडेलका अनुसार लोकतन्त्र धान उपल्लो भेगमा फल्दैन। तराई, भित्री मधेश, तल्लो पहाड र मध्यपहाडका नदी किनारमा मात्रै यो धान राम्रो फल्ने पौडेलले बताए ।