काठमाडौं, १४, मंसिर । राजधानीको मित्रनगरको वीरेन्द्र ऐश्वर्य मार्गस्थित स्वस्तिका त्रिवेणी होटलका सञ्चालक प्रवीण कुवँरका आठबर्षिया छोरा प्रयास कुवँरको अपहरणपछि हत्या भएको छ।
बालकको अपहरणपछि हत्यामा गेस्ट हाउस सञ्चालककै २२ बर्षिय ड्राइभर महेन्द्र एसके संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए ।
बालकको हत्यामा संलग्न भएको आरोपमा एसकेलाई प्रहरीले गोंगबुस्थित उनको डेराबाटै पक्राउ गरेको छ । उनकै बयानका आधारमा बालकको शव मित्रनगरबाट म्हेपी पुलतर्फ ५० मिटर तल खोला किनारमा फोहोरको थुप्रोमाथि भेटिएको हो । मृतक प्रयास कुँवर दम्पतीका एक सन्तान हुन् ।
बाबुआमा स्वास्थ्य जाँचका लागि अस्पताल गएको अवस्थामा गेस्ट हाउसमै खेलिरहेका बालक बेपत्ता भएका थिए । प्रयासका बाबु प्रवीणले प्रहरीलाई खबर गरेर छिमेकीको सहयोगमा खोजी थालेका थिए । बालकलाई चकलेट दिएर ड्राइभरले नै लगेको खुलेको छ । बालकको शव भएको जेब्रा झोलाबाट चार वटा चक्लेट पनि भेटिएको छ ।’
ओठ र छातीभन्दा केहीमाथि रगत लतपतिएको अवस्थामा बालकको शव भेटिएको छ। अपहरण गरेकै राति बालकलाई रानीबारी वनमा लगेर हत्या गरेको एसकेले बयान दिएका छन् ।
प्रहरीका अनुसार ड्राइभर स्याङ्जाको भीरकोटका एसके र पर्वतको बिहादी गाउँपालिका–३ स्थायी घर भएका गेस्ट हाउस मालिकबीच विवाद भएको देखिएको छैन । दसैं मनाउन गएका पुराना ड्राइभर नआएपछि उनलाई गेस्ट हाउस सञ्चालकले एक महिनाअघि मात्रै राखेका थिए । एसकेले गेस्ट हाउसमा आउने यात्रु स्कार्पियो जिपबाट ल्याउने÷लाने गर्थे । तर उनले मन लगाएर काम नगरेपछि गेस्ट हाउस मालिकले उनलाई कामबाट निकाल्ने भन्न थालेका थिए ।
‘घटनाको प्राराम्भिक अनुसन्धानमा ड्राइभरलाई गेस्टहाउस सञ्चालकले कामबाट निकाल्न खोजेको देखिन्छ । त्यहीकारण बालकको अपहरण गरेको हुनसक्छ’, उप्रेतीले भने, ‘तर उनले मालिकसँग फिरौती या अन्य माग राखेको देखिएन । ड्राइभर एसकेले पनि बयानमा मालिकसँग कुनै माग नराखेको बताएका छन् ।’