आयात भन्दा निर्यातमा कमी

824
views

काठमाडौं । आयातको तुलनामा निर्यात दर कम भएपछि चालु आर्थिक वर्षमा बजेटभन्दा व्यापार घाटा भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको तथ्यांकले चालु आवको चार महिनामा व्यापार घाटा चार खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ ।

गतवर्ष भन्दापनि व्यापार घाटा ४० प्रतिशतले बढेको छ । यही हिसाबमा आयात–निर्यातको अनुपात कायम रहने हो भने यो वर्षको बजेटभन्दा व्यापार घाटा ठूलो हुने देखिएको हो । मुलुकको चालु आवको बजेट १३ खर्ब १५ अर्बको रहेको छ ।e

चालु आर्थिक वर्ष २०७५ र ०७६ को प्रथम चार महिनाको तथ्यांक अनुसार मुलुकको व्यापार घाटा चार खर्ब ५४ अर्ब ४७ करोड नाघेको हो । यो गत आवको सोही अवधिको तुलनामा ४०.३ प्रतिशतले धेरै भएको केन्द्रले जनाएको छ ।

तथ्यांकअनुसार चार महिनामा मुलुकको कुल वैदेशिक व्यापार ३६.१ प्रतिशतले बढेर पाँच खर्ब १३ अर्ब पुगेको छ । कुल व्यापारमा निकासीको योगदान ५.७ र आयातको ९४.३ प्रतिशत छ ।

यस अवधिमा मुलुकको कुल निर्यात १०.७ प्रतिशतले बढेर २९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। आयात ३८.१ प्रतिशतले बढेर चार खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो ।

निकासीमा सामान्य वृद्धि भए पनि आयात वृद्धिदर उच्च हुँदा व्यापार घाटा कम हुन नसकेको केन्द्रका नायब कार्यकारी निर्देशक सुयश खनालले बताए ।

धागो, ऊनी गलैंचा, तयार पोसाक, फलाम तथा फलामका उत्पादन लगायतले मुलुकको निर्यात व्यापारमा उच्च योगदान गरेका छन् । पछिल्लो चार महिनामा यार्नको निकासी १९ प्रतिशतले बढेर दुई अर्ब ९३ करोड ३१ लाख पुगेको छ । कुल निर्यातमा यसको योगदान १० प्रतिशत रहेको केन्द्रले जनाएको छ ।

त्यसैगरी, ऊनी गलैंचाको निर्यात झण्डै १८ प्रतिशतले बढेर दुई अर्ब ७६ करोड, तयारी पोसाक १२ प्रतिशतले बढेर दुई अर्ब ४० करोड र फलाम तथा यसका उत्पादनको निर्यात ४६ प्रतिशतले बढेको छ । पछिल्लो चार महिनामा दुई अर्ब २१ करोडका फलामे उत्पादन निकासी भएको छ ।

त्यसैगरी, स्वदेशमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ र फलाम तथा फलामका उत्पादन मात्रै २६ प्रतिशतभन्दा धेरै छन् । पछिल्लो चार महिनामा यी दुई वस्तु मात्रै एक खर्ब २७ अर्ब २७ करोड रुपैयाँभन्दा धेरै मूल्यको आयात भएको छ ।

तथ्यांक अनुसार चार महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयात ६८ प्रतिशतले बढेर ६९ अर्ब सात करोड नाघेको छ। त्यस्तै, फलाम तथा फलामका उत्पादनको आयात ६२ प्रतिशतले बढेर ५८ अर्ब २० करोडभन्दा माथि पुगेको छ ।