अमेरिकीको औसत आयु निरन्तर घट्दो

966
views

औषधिको अत्यधिक प्रयोग र आत्महत्या दरमा वृद्धिसँगै अमेरिकामा औसत आयु निरन्तर घट्दो क्रममा छ । अमेरिकी सरकारले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो । प्रतिवेदनअनुसार सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।

अघिल्लो वर्षमा सन् २०१६ को तुलनामा औषधिको प्रयोगमा ९ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ भने आत्महत्यामा ३ दशमलव ७ प्रतिशत बढेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा औसत आयु सन् २०१६ को तुलनामा शून्य दशमलव १ ले कमी आएको छ अर्थात् औसत आयु ७८ दशमलव ६ वर्ष भएको छ ।

अमेरिकामा पछिल्ला वर्षमा अफिम, दुखाइ कम गर्ने औषधि, हेरोइन र फेन्टानाइलजस्ता लागुपदार्थको प्रयोग बढ्दो

अमेरिकामा पछिल्ला वर्षहरूमा अफिम, दुखाइ कम गर्ने औषधि, हेरोइन र फेन्टानाइलजस्ता लागुपदार्थको प्रयोग बढेको छ । एक दशकपछि सन् २०१५ मा अमेरिकी औसत आयुमा पहिलोपटक कमी आएको थियो र यसको प्रमुख कारणमा औषधिको अतिरिक्त प्रयोग (ओभरडोज) मानिएको छ ।
समग्रमा सन् २०१४ देखि नै औसत आयु घट्ने प्रवृत्ति रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का विश्लेषक रोबर्ट एन्डरसनका अनुसार सन् २०१४ देखि हालसम्म औसत आयुमा शून्य दशमलव ३ प्रतिशतले कमी आइसकेको छ ।

‘औसत आयु घट्दो क्रममा रहेकाले हामीलाई चिन्ता लागेको छ,’ एन्डरसनले भने । आयुको घट्दो प्रवृत्ति सन् १९१८ को विनाशकारी फ्लु र पहिलो विश्वयुद्धमा पनि देखिएको थिएन । ‘हामी विकसित मुलुक हौँ, हामीसँग धेरै स्रोतसाधन छ, र हाम्रो बढ्दो औसत आयु हुनुपर्ने हो, तर परिस्थिति भिन्न हुँदै गएको छ,’ एन्डरसनले भने ।

सिडिसीको तथ्यांकअनुसार सन् २०१७ मा मात्र ७० हजार २ सय ३७ जनाको मृत्यु औषधिको ओभरडोजकै कारण भएको थियो । अधिकांश यो मृत्यु अप्राकृतिक देखिएको छ । सन् २०१६ मा सन् २०१५ को तुलनामा २१.६ प्रतिशत बढी मानिसको मृत्यु औषधिको ओभरडोजका कारण भएको थियो । एजेन्सी