लमजुङ, १४, पुस । रैथाने जातको बाली संरक्षणका लागि लमजुङ्को मस्र्याङ्दी गाउँपालिका २ घनपोखराको रोप्लेफाँटमा सामुदायिक बीउ बैङ्क स्थापना गरिएको छ ।
बीउ बैङ्कमा १५ वटा जातको ७४ प्रजातिका बीउ राखिएको कृषकले बताएका छन् । धानका २३, कोदोको १०, कागुनोको ४, मकैको २, उवा १, सिमी ६, बोडी ४, गहत १, फर्सी ३, भटमास ४, घिरौँला २, पिँडालु ३, खुर्सानी ४, काँक्रो ३ र जौको १ प्रजातिका रैथाने बीउ जम्मा गरी राखिएको छ । घनपोखरा बीउ उत्पादक तथा संरक्षक कृषक समूह एवं घनपोखरा सामुदायिक बीउ बैङ्कका अध्यक्ष खगेश्वरजङ्ग गुरुङका अनुसार उक्त बीउ बैङ्कमा लोप हुँदै गएको बालीका बीउ राखिएको छ ।
हराउँदै गएको बीउको संरक्षण गर्नुका साथै किसानले चाहे अनुसारको बीउ किसानलाई दिइने उहाँले बताउनुभयो । स्थानीय बौद्धसिंह गुरुङको घरको एक कोठा भाडामा लिई मासिक एक हजार पाँच सय रुपियाँ भाडा तिरेर बीउ बैङ्क स्थापना गरिएको उहाँले बताउनुभयो । बीउ बैङ्कका लागि आवश्यक फर्निचर, बीउ राख्ने भाँडालगायत सहयोग जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) पोखराले गरेको छ ।
ली–बर्ड पोखराका कार्यक्रम अधिकृत रीता गुरुङले घनपोखरामा आर्थिक वर्ष २०७१÷७२ बाट रैथाने जातका बाली संरक्षण गर्न अनुसन्धानका काम शुरु गरिएको बताउनुभयो । बाली संरक्षणको बारेमा आवश्यकता र महìव बुझ्न थालेपछि बीउ बैङ्क स्थापना गरिएको उहाँले बताउनुभयो । अनुसन्धान, सचेतनाका कार्यक्रम सञ्चालनपछि सामुदायिक बीउ बैङ्क स्थापना गर्न किसान आफैँ सक्रिय भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड), कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) एवं जीन बैङ्क र बायोभर्सिटी इन्टरनेसनलको संयुक्त सहयोगमा घनपोखरामा बाली संरक्षण कार्यक्रम हुँदै आएको छ ।
पाँच वर्षदेखि सञ्चालन हुँदै आएको कार्यक्रमअन्तर्गत अहिले बीउ बैङ्क स्थापना गरिएको हो । विभिन्न बालीका स्थानीय जातको संरक्षण, प्रवद्र्धन तथा उपयोग, स्थानीय कृषकको आवश्यकता अनुसारका गुणस्तरीय बीउविजन सुलभ रूपमा उपलब्ध गराउनु र कृषिमा आधारित आयमूलक क्रियाकलाप सञ्चालन गर्नु बीउ बैङ्कको उद्देश्य रहेको उहाँले बताउनुभयो ।
मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिकाले स्थानीय बाली संरक्षणका कार्यक्रमका लागि बजेट विनियोजन गरिने र कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । हाम्रो गाउँपालिकाका प्रायः सबै गाउँ होमस्टे गाउँ हुन् । पर्यटकलाई अर्गा्निक खाना खुवाउनका लागि रैथाने बाली आवश्यक छ । हामी रैथाने बाली जोगाउने कार्यक्रम शुरु गर्छौं, उहाँले भन्नुभयो ।
बायोभर्सिटी इन्टरनेसनलका राष्ट्रिय परियोजना प्रबन्धक, वरिष्ठ वैज्ञानिक डा. देवेन्द्र गौचनका अनुसार स्थानीय बाली जोगाउन सकिएमा गाउँमा खाद्यान्नको सुरक्षा हुन्छ । रैथाने बालीबिना हाम्रो खाद्य सुरक्षाको अवस्था कमजोर हुन्छ । त्यसैले रैथाने बाली जोगाउन आवश्यक छ, उहाँले भन्नुभयो । राष्ट्रिय जीन बैङ्क (नार्क) का प्रमुख वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीले सामुदायिक जीन बैङ्कले रैथाने बालीको संरक्षण गर्दैै आएको बताउनुभयो । रैथाने बाली हराउन थालेपछि हामी यसको संरक्षण गर्ने अभियानमा छौँ, उहाँले भन्नुभयो । ली–बर्डका कार्यक्रम सञ्चालन निर्देशक भरत भण्डारीका अनुसार बीउ बैङ्कको संरक्षणमा स्थानीयको ठूलो भूमिका रहनेछ । गोरखापत्रबाट