प्रधानसेनापतिको औपचारिक भारत भ्रमण

663
views

काठमाडौं, २६, पुस । नेपाल सरकारको निर्णय अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र भारत जाने भएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा यहि पौष २७ गते भारत जाने भएका हुन् ।

प्रधानसेनापतिको नियुक्ति पश्चात् यो पहिलो पटक भारत भ्रमण रहेको छ । भारत भ्रमणको सिलसिलामा प्रधानसेनापति महारथी श्री थापालाई भारतका महामहिम राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको र्दज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । दुवै देशका सेना प्रमुखहरुलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ ।

भ्रमणको क्रममा प्रधानसेनापति महारथी थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसंग भेटघाट गर्नेछन् । उनले भारत सरकारका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सोहि क्रममा प्रधानसेनापति महारथी थापाले जयपूर र लखनऊको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । प्रधानसेनापतिको भ्रमणदलमा श्रीमती दिपा थापा, सैनिक ईण्टेलिजेन्स महानिर्देशक उपरथी झंकर बहादुर कडायत लगायत ७ (सात) जना रहेका छन् ।

प्रधानसेनापति महारथी थापासहितको उच्चस्तरिय भ्रमणदल मिति २०७५ माघ ०२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।