जमिन भासिएर थुनिएको कालिगण्डकी खुल्यो

722
views

सिताराम थापा
वाग्लुङ, ९, माघ । हिमालपारी जिल्ला मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकाको छैरो भन्ने ठाउमा जमिन भासिएर थुनिएको कालीगण्डकी नदी खुलेको छ । बुधबार विहान करीब १०.३० बजे घरपझोङ गाउँपालिका वडा नं–१ र २ को सीमानामा छैरो भन्ने ठाउँमा नदि किनारको करीब ३ सय मिटर जमिन भासिएर थुनिएको नदी बग्न थालेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जानकारी दिएको छ ।

भूकम्पले चिरा चिरा परेको पहाडमा सुख्खा पहिरो गएपछि माटो र रुख विरुवा झरेपछि नदी थुनिएको हो । नदीको एकापट्टिको किनार थुनिएर करीब २ सय मिटर फराकिलो ताल बनेको छ भने अर्को तर्फको किनारबाट पानी बगिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए ।

नदी थुनिएको ठाउँमा तिनै थरी सुरक्षा निकायहरु परिचालित गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना समेत उद्दारका थुनिएको नदी खुलाउन पुगेको थियो । सुरक्षा टोलिले पहिरोले खसेको रुखहरु पन्छाएपछि नदीले माटो बगाउन थालेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।