नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

1378
views

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेको छ । चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघका कार्यकर्ताहरुले आज राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार विमानस्थलभित्रै नेविसंघ कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए । आईतबार नेविसंघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न पनि माग गरेको छ ।

नेविसंघका नेता तथा कार्यकर्ताहरुले गरेको प्रदर्शनका कारण केहीबेर पशुपति क्याम्पसअगाडिको सवारी आवागमनसमेत प्रभावित बनेको थियो ।

उता बुटवलमा प्रमुख विपक्षी काग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध प्रदर्शन गरेको छ । कम्युनिस्ट सरकारको चमत्कारः महंगी, बलात्कार र भ्रष्टाचार’को नारा दिएर भएको प्रदर्शनमा कांग्रेस नेता कार्यकर्ताको सहभागिता थियो ।