पोखरामा पनि मेची–महाकाली अभियानको उद्घाटन

1228
views

पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले मेची–महाकाली अभियानको पोखरामा पनि भव्य रुपमा उद्घाटन गरेको छ । देशका चार सहरबाट एकैसाथ उद्घाटन गरिएको अभियानको पोखराबाट पनि उद्घाटन गरिएको हो ।

अभियानको नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्युरो सदस्य एवं देजमो प्रदेश नं ४ का संयोजक केश बहादुर परियारले बेलुन उडाएर उद्घाटन गरेका थिए । उद्घाटनपछि संबोधन गर्दै पोलिट ब्युरो सदस्य परियारले देशलाई वर्वादी गराउने दुईतिहाई सरकार आवश्यक नरहेको बताए ।

परियारले वर्तमान सरकार मत्ताहात्ति जस्तै भएको उदाहरण दिदैं भने ‘जसरी मत्ता हात्ती बस्तमिा छिरेर विनास गर्दछ, त्यसरी नै वर्तमान सरकारका गतिविधिले नेपाली जनता र देशकै विनास भएको छ ।’ उनले नेपाली युवाहरुलाई विदेश पठाउने र रेमिट्यान्सबाट देश चलाउने सोंचले मुलुकमा राष्ट्रिता झन धरापमा परेको बताए । उनले उखान र टुक्काले देश नचल्ने बताउँदै वर्तमान सरकारले सबैभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य अशोक लम्सालले दलाल पुँजीको आडमा टिकेको वर्तमान सरकारलाई जनताले सडकबाटै ढाल्ने चेतावनी दिए ।

कार्यक्रममा सो पार्टीका केन्द्रिय सदस्य एवं धौलागिरी ईन्चार्ज निल बहादुर थापाले वर्तमान सरकार ईतिहासकै नालायक सरकार रहेको टिप्पणी गरे । उनले गण्डकी प्रदेश स्विकार्य नभएको उल्लेख गर्दै तमु, जनजाती आदिवासीहरुको थलोको नाम मेटाउने देव गरुङ र हालका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जनताले फुर्सद नदिने चेतावनी दिए ।

कार्यक्रममा बोल्दै क्रान्तिकारी युवा लिगका प्रदेश प्रमुख एवं केन्द्रिय सदस्य उत्तम थापा मगरले मेची महाकाली अभियानसँगै वर्तमान सरकारका विरुद्ध जनताको सेना स्थापना हुने चेतावनी दिए ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय सदस्य भिम बहादुर श्रीसको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देजमो नेपालका केन्द्रिय सदस्य एवं जनसांस्कृतिक महासंघकी अध्यक्ष सुशिला थापाले आम महिलाहरु अधिकारका लागि संघर्षमा उत्रिनुपर्ने बताईन् ।

अभियानको उद्घाटन कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य एवं युवा नेता नारायण अधिकारी निश्छल, युवा लिग नेपालका केन्द्रि सदस्य एवं प्रदेश ४ का कार्यालय सदस्य ईन्द्र गुरुङ, सो पार्टीका पर्वत जिल्ला ईन्चार्ज तेजेन्द्र पौडेल लगायत विभिन्न जिल्लाका ईन्चार्ज सेक्रेटरी एवं भातृ संगठनका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संगम साँस्कृतिक मञ्च नेपालका कलाकारहरुले प्रस्तुत गरेका क्रान्तिकारी गीत र नृत्यले अभियान सामारोहलाई थप उर्जा प्रदान गरेको थियो । 

अभियानको स्वागत नेकपा (क्रान्तिकारी माओववादी) का कास्की जिल्ला सेक्रेटरी कर्ण बहादुर पुनले गरेका थिए भने सञ्चालन सो पार्टीका तनहुँ सेक्रेटरी नेत्र रानाभाटले गरेका थिए ।