‘मुलुकमा लुटतन्त्र छ, कर तिर्नु पर्दैन’– गजुरेल

752
views

सिराहा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले भ्रष्टचारीलाई वढवा दिने सरकारलाई कर तिर्न नपर्ने बताएका छन् । मंगलबारदेखि सञ्चालित मेची महाकाली अभियानको क्रममा सिराहा र लहानको सभालाई सम्बोधन गर्दै उनले राज्यले कृषकको हितमा कुनै कार्यक्रम वा सुविधा नल्याएको तर, कृषकमाथि विभिन्न वहानामा चर्को कर लगाएको भन्दै राज्यलाई कुनै प्रकारको कर नतिर्न आग्रह गरे ।

अध्यक्ष गजुरेलले ओली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई बढवा दिएको आरोप लगाउँदै मुलुकको विकासमा लगाउनुपर्ने युवा जनशक्तिलाई ओली सरकारले विदेशको विकासका लागि श्रम बिक्रि गर्न बाध्य पारेको बताए ।

उनले वैदेशिक नेपाली मजदुरहरुको करबाट आउने रकम एयर कन्डिसनमा खर्चेर रमाएको भन्दै वर्तमान सरकार भ्रष्ट, दलाल र राष्ट्रघाती, जनघातीहरुको सरकार भएकोले वर्तमान सरकारबाट देश र जनताको पक्षमा काम हुन्छ भनेर अपेक्षा गर्नु बेकार भएको बताए ।

उनले ओली प्रचण्डहरुको पार्टी एकतापछि बनेको सरकार सबैभन्दा जनघाती भएको बताए । उनले भने–‘जनयुद्धको शुरुवातको अवस्थामा हामीले गणतन्त्र माग्दै गर्दा बयलगाडा चढेर अमेरिका पुगिदैँन भनेर व्याङ्ग्य गर्नेहरु अहिले गणतन्त्र भनिएको वर्तमान व्यवस्थाको आफैले नेतृत्व गरिरहेको स्पष्ट पारे ।

गजुरेलले रोजगार योजनाको नाममा छुट्याएको रकम आफ्ना कार्यकर्ताहरुको व्यावस्थापनमा खर्चदै मुलुकमा लुटतन्त्र चलाएको आरोप लगाउँदै ओली सरकारको पालामा मुलुकमा ठूला ठूला भ्रष्टाचार काण्ड भएको र विभिन्न बाहनामा राज्यको ढुकुटी रित्याउँने काम गरिएको आरोप लगाए ।

मुलुकमा निर्यात व्यापारको तुलनामा आयात व्यापार ओली सरकारको पालामा निक्कै बढेको भन्दै उनले भने–‘राज्यको व्यापारीक नीतिले हामीलाई भारत निर्भर बनाएको छ, यसले राष्ट्रिय उत्पादन घटेको छ, एकाध व्यक्तिहरु मोटाएका छन, यो दलाल पूजिँवादको अवस्था हो ।’

उनले अहिले मुलुकमा लोकतान्त्रीक गणतन्त्र रहेको भन्दै त्यो माओवादी आन्दोलनको मुद्धा नभएको प्रष्ट पारे । उनले वर्तमान व्यवस्थाले दलाल र माफियाहरुको हित गर्ने भन्दै जनता र राष्ट्रको आवश्यकता संघीय जनगणतन्त्र भएकाले पुन सघर्ष गर्नुपर्नेमा जोड दिए ।

मधेशमा थुप्रै समस्याहरु रहेको उल्लेख गर्दै अध्यक्ष गजुरेलले मधेसको समस्या बोकेर राजनीति गर्ने मधेशवादी दलहरु प्रतिकृयावादी सत्तामा सघाउन पुगेको बताए । उनले तराई मधेश र देशका आम उत्पीडित वर्म समुदायका जनताको मुक्तिको खातिर, हक अधिकारको सुनिश्चितताका लागि वर्तमान संसदीय व्यवस्थालाई फालेर जनगणतान्त्रीक व्यवस्था ल्याउनुपर्ने बताए ।