रैथाने वाली संरक्षणमा बाग्लुङ पर्वतका किसान

2633
views

महेन्द्र जिसी
पर्वत । खेतीबालीमा विषादी निरुत्साहीत गर्न कृषि ज्ञान केन्द्र पर्वतमा अर्गानीक उत्पादन जिल्ला संघ गठन गरिएको छ । पर्वत र वाग्लुङ जिल्लाका अर्गानिक कृषकहरु समेटेर अर्गानिक उत्पादक जिल्ला कृषक संद्धठन गठन गरिएको हो । वाग्लुङ जिल्लाका १० स्थानीय तहका अगुवा अर्गानीक कृषक र पर्वत जिल्लाका सात स्थानीय तहका अगुवा कृषकरुको भेलाले १९ सदस्यीय समिति गठन गरेको हो ।

ग्रामिण भेगमा पाईने पुराना जातका बाली तथा अन्नहरुको उत्पादन बढाउन र रासायनिका मल विषादी प्रयोग हटाउँदै प्राङगारिक मलखाद प्रयोग गरेर उत्पादन बढाउन समिति गठन गरिएको समितिका अध्यक्ष रिखीराम भुसालले बताए ।

बालिनालीमा पुरानै चक्र फर्काउन समितिले स्थानीय हावापानीमा पाईने बालीनाली पहिचान र प्रर्वद्धन गराउन पहल गर्ने भुसालले बताए ।

वाग्लुङ जिल्लाका निशी खोला, काठेखोला, ढोरपाटन, गलकोट जैमुनी जस्ता विकट बस्तीमा उत्पादन हुँदै आएको अन्न पहिचान र त्यसको पुरातन प्रर्वद्धन पद्दति कायम राख्न अर्गानीक समितिको आवश्यक रहेको ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मीले बताए ।

यस्तै पर्वतका उच्च भेगीय वस्तीहरुमा उत्पादन हुने आलु फापर, उवा, जौ, ढकायो, कोदो, धान, जुनेलो, पिडालु, मकै जस्ता रैथाने उत्पादनलाई संरक्षण गर्न पनि समिति सक्रिय रहने समितिका पदाधिकारीहरुले प्रतिबद्धता गरेका छन् ।

समितिमा १७ स्थानीय तहलाई समेटीने गरी १९ सदस्य कायम गरीएको छ । ५ जना सल्लाहकार समेत राखिएको छ ।

समितिको अध्यक्षमा रिखिराम भुसाल, उपाध्यक्षमा नरुमती पुन, सचिवमा चिरन कुमार घर्तीमगर, कोषध्यक्षमा थानेश्वर भुसाल, सदस्यहरुमा सोम बहादुर तिलिजा, भवानी शर्मा, डिलबहादुर पुन, मेखबहादुर राना, प्रेम श्रीष , गणेश पौडेल, सुकुमाया रोक्का, हिरामणी उपाध्याय, चुडामणी छन्त्याल, ओम बहादुर खत्री, कृतना गुरुङ रहेका छन् ।

सल्लाहकारहरुमा ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मी, बालि संरक्षण अधिकृत नारायण पौडेल, वागवानी अधिकृत सोनु राना, कृषि प्रसार अधिकृत विनोद शर्मा, कृषि पत्रकार महेन्द्र जिसी रहेका छन् ।

समितिले पर्वत र वाग्लुङ जिल्लामा हुने रैथाने बाली प्रर्दशन गर्ने निर्णय समेत गरेको छ । प्रदर्शनपछि रैथाने वाली संरक्षण र प्रर्वद्धनका कार्यक्रम सञ्चालन गरीने ज्ञान केन्द्रले जनाएको छ । समितिको पाँचबर्षे कार्यकाल रहेको छ ।