नेकपा निकट विधार्थी नेताद्वारा ध्रुव माविमा सेनेटरी प्याड वितरण

751
views

निर्मल पौडेल
पर्वत, २, जेठ । पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको ध्रुव माविमा अध्ययनरत किशोरीहरुलाई नेकपा निकट विधार्थी नेताहरुले सेनेटरी प्याड वितरण गरेका छन् ।

शैक्षिक जागरण अभियान तथा ५४ औं विद्यार्थी दिवसको अवसर पारेर अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटा सहितको टोलीले विधालयमा अध्ययनरत छात्राहरु लाई प्याड वितरण गरेका हुन् ।

अनेरास्ववियू क्रान्तिकारी र अनेरास्ववियु पर्वतको संयुक्त आयोजित कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सचिव क्षितिज सापकोटाले महिनावारी भएको बेला छात्राहरूले विद्यालय छाड्नुपर्ने अवस्था रहेको भन्दै त्यसको अन्त्यका लागि प्रगतिशिल विद्यार्थीहरुको संगठनले शैक्षिक जागरण अभियान अन्तरगत शैक्षिक सामाग्री तथा सेनेटरी प्याड वितरण गरेको बताए ।

कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारी पर्वतका इन्चार्ज तथा के.स. विजय प्रकाश सापकोटाले राज्यले निशुल्क रुपमा कण्डम वितरण गर्ने तर सेनेटरी प्याड वितरण नगरेको प्रति दुख व्यक्त गरे । उनले महानावरी महिलाहरुको लागि अनिवार्य र प्राकृतिक रुपमा चल्ने प्रक्रिया भएको र यसमा ध्यान नदिदाँ रोगको जोखिम उत्तिकै बढ्ने भएका कारण बेलैमा सजग हुनुपर्ने बताए ।

पोखरा महानगरपालिका ईकाई अध्यक्ष विशाल तामाङले विद्यार्थीहरु एक जुट हुन सकेमा नै शैक्षिक क्षेत्रमा हुने गरेको अराजकतालाई अन्त्य गर्न सकिने बताए ।

अनेरास्ववियु पर्वतका तेज शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन विधार्थी नेता लकास सुवेदीले गरेका थिए ।