नयाँ जनवादी क्रान्ति पूरा गर्न सरकार, सेना, पुलिससँगै लडाई हुन्छ–वैद्य

1131
views

कैलाली । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नाम राखेर कम्युनिष्ट नहुने बताएका छन् । कैलालीको टिकापुर थारूहट राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न यहाँ आएका वैद्यले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

थारुहरुको आन्दोलन दुईथरीको चेपुवामा परेर आन्दोलन मार्फत थारु तथा जनजातिहरुको हक अधिकारहरु कुण्ठित परेको महासचिव वैद्यको भनाई थियो । वैद्यले पहिचान सहितको संघियताको लागि सम्पूर्ण थारु, मुस्लिम, महिला, मधेसीहरुको संयुक्त आन्दोलन आवश्यक रहेको बताउँदै आन्दोलनबाटै नामधारी कम्युनिष्टको पतन हुने विश्वास व्यक्त गर्नुभयो ।

दुई तिहाई को दम्भ देखाएर मुलुकलाई मुठभेड़तिर धकेल्ने प्रयत्न भएको आरोप लगाउँदै महासचिव वैद्यले विप्लवसंगको एकताका बारेमा तत्काल सम्भव नभएको बताए ।

महासचिव वैद्यले भने ‘विप्लव नेतृत्वको समुहको न विचार सही छ न कार्यदिशा, दुईचार एनसेलका टावरमा आगो लगाउदै र तोडफोड गरेर क्रान्ति सम्भव हुँदैन ।’ महासचिव वैद्यले थपे ‘‘नयाँ जनवादी क्रान्ति पूरा गर्न सरकार, सेना, पुलिससँगै लडाई हुन्छ ।’’

पत्रकार सम्मेलनमा सुदुरपश्चिम प्रदेश सेक्रेटरी अटल लगायतका क्रान्तिकारी माओवादी नेताहरुको उपस्थिति रहेको थियो ।