संसद फेश गर्न ओलीलाई थापाको चुनौती

452
views

काठमाडौं, चैत २६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तथ्य र तथ्याङ्कमा टेकेर संसदमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएको छ ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद गगन थापाले सरकारले ३ वर्षमा गरेका कामलाई लिएर संसदमा बहस गर्न आउन प्रधानमन्त्री ओलीलाई चुनौती दिए।

उनले प्रधानमन्त्री ओलीले संसद बाहिर मुलुकमा सरकारले राम्रा काम गरेको र समृद्धि भएको भन्ने लज्जासपद र हाँस्यादपद भाषण गर्दै हिँडेको आरोप लगाए ।

सांसद थापाले संसद छलेर र संसदबाट भागेर नजान समेत प्रधानमन्त्रीलाई सुझाव दिए ।

थापाले प्रधानन्त्रीले कहिले उठेर त कहिले बसेर शिलान्यास र उद्घाटन गरेर तमासा देखाएको आरोप लगाए। 

सत्तारुढ दल माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले संसदमा विश्वासको मत नलिएको प्रति प्रश्न उठाउँदै आफैले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना हुँदा पनि नैतिकता नदेखाएको भन्दै रोस प्रकट व्यक्त गरे।

उहाँले संसदलाई काम गर्न नदिएर सरकारले फेरी संसद विघटन गर्न खाजेको हो भन्दै प्रश्न गर्नुभयो ।

सत्तारुढ दल नेकपा एमालेका सांसद लालबावु पण्डितले विचाराधिन विधेयक किन अगाडी नबढाएको भन्दै सभामुखलाई प्रश्न गर्नुभयो ।

सत्तारुढ दल एमालेकै सांसद खगराज अधिकारीले एमालेका सांसदलाई मिनी सांसद भनिने संसदीय समिति बैठकमा नेकपा सांसद भन्ने गरिएको भन्दै आपत्ति गरे ।

उहाँले संसदीय समितिमा एमाले नाममै प्रतिनिधित्व गराउन सभामुखसँग माग गरे ।

बैठकमा अन्य सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा मधेशी र थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएका छन् ।

यस्तै, बैठकले २०४८ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित एवम उक्त कार्यकालमा राष्ट्रियसभाको उपाध्यक्ष समेत रहेका ऐश्वर्यलाल प्रधानाङ्कको निधनप्रति शोक प्रस्ताव पारित समेत गरेको छ ।