एजेन्सी ।अमेरिकाले दक्षिण एसियाली मुलुक अफगानिस्तानमा गरेको सैन्य हस्तक्षेप अन्त्य भएको छ । अफगानिस्तानलाई जानकारी नै नदिइ अमेरिकी सेना बगराम एयरबेसबाट अमेरिका फर्किएको हो ।
गत शुक्रबार बिहान ३ बजेतिर अमेरिकी सेनाले बगराम छाडेको जानकारी अफगान सेनाका जनरल असदुल्ला कोहिस्तानीले दिएका हुन्। बीबीसीका अनुसार अफगानी सुरक्षा बलले अमेरिकी सेना बगरामबाट हटेको जानकारी केही घण्टापछि मात्रै प्राप्त गरेको थियो ।
बगराममा एक जेल पनि छ, जहाँ पाँच हजारजति तालिबानी विद्रोहीलाई कैद गरिएको अनुमान छ । अमेरिकी सेना अफगानिस्तानबाट फर्किएलगत्तै तालिबानले त्यहाँ निकै तीव्र गतिमा इलाकाहरू कब्जा गर्न थालेको छ ।
बगराम एयरबेस वरपरका इलाकामा पनि तालिबानी गतिविधि टिपोट भएको जनरल कोहिस्तानीले बताएका छन्। तर, आफ्नो क्षमताले भ्याएसम्म तालिबानी विद्रोहीबाट नागरिकलाई जोगाउने उनको भनाइ छ ।
शुक्रबार अमेरिकाले बगराम एयरबेस खाली गरेको जानकारी दिएको थियो। सो कदमसाथ अफगानिस्तानमा अमेरिकी सैन्य अभियान अन्त भएको हो ।
राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ अघि नै अमेरिकी सेनालाई अफगानिस्तानबाट फर्काइने बताएका थिए।
यस्ता सामग्री छाडेर फर्कियो अमेरिकी सेना
जनरल कोहिस्तानीले जानकारी दिएअनुसार अमेरिकी सेनाहरूले एअरबेसमा ३५ लाख थानजति सामग्री छाडेका छन् । त्यहाँ हजारौं बोतल पिउने पानी, शक्तिबद्र्धक पेय पदार्थ र तयारी खानाका प्याकेटहरूको चाङ छ ।
समाचार एजेन्सी एपीका अनुसार अमेरिकी सेनाले हजारौं सवारीसाधन र सयौं बख्तरबन्द गाडी पनि त्यत्तिकै छाडिदिएका छन् ।
तर, अमेरिकीहरूले भारी हातहतियार लगेका छन् भने गोलाबारुद राखिएका केही भण्डार जलाइदिएका छन्। केही थान छोटा हातहतियार र गोलाबारुद भने छाडेका छन् ।
रातारात अफगानिस्तानबाट फर्कनुको कारणबारे राखिएको जिज्ञासामा अमेरिकी सैनिक प्रवक्ता कर्नेल सोन्नी लेग्गेटले यसबारे अफगान नेताहरूलाई जानकारी दिइएको दाबी गरेका छन् ।
शुक्रबार राति अमेरिकी सैनिक फर्किएको २० मिनेटपछि बगराममा विद्युत काटिएको थियो र एयरबेसमा अन्धकार छाएको थियो ।
एपीका अनुसार अमेरिकी सेनाले स्थानीय लुटेराहरूलाई त्यहाँ रहेका सामान लैजान यस्तो संकेत दिएको थियो। लगत्तै एयरबेसको अवरोध तोड्दै उनीहरू त्यहाँ पुगेका थिए ।
लुटेराहरूले त्यहाँ छाडिएका सामान नजिकैका कवाडखाना र प्रयोग गर्न मिल्ने सामान पसलहरूमा बेचेको पाइएको छ ।
सन् २००१ सेप्टेम्बर ११ मा अफगान तालिबानको सहयोगमा उग्रवादी संगठन अल कायदाले अमेरिकामा आतंकवादी हमला गरेको थियो ।
प्रतिवादमा अमेरिकाले अफगानिस्तानमा सैन्य हस्तक्षेप गरेको थियो र तालिवानलाई सत्ताच्युत गराएको थियो । अफगानिस्तान युद्धलाई अमेरिकाले सबैभन्दा लामो युद्ध संज्ञा दिएको छ ।