-रिना खनाल
परिभाषा अनुसार सामाजिक अभियन्ता भनेको समाजको भलाइमा सदैव अघि सर्ने मार्गदर्शक हो । तर देशमा अचेल यो परिभाषालाई नै चुनौती दिने कथित अभियन्ताहरुको बिगबिगी छ ।
केही दिन यता त्यस्ता अभियन्ता सामाजिक संजालमा राज्य संयन्त्रलाई नै दुर्बल बनाउने गरी छाइरहेका छन् । प्रहरीविरुद्ध रंगभेद तथा नश्लीयतासम्बन्धि शब्द प्रयोग, अपमानित गरिएको र त्यसको भिडियो रेकर्डिङ भाइरल भएका छन् । सामाजिक अभियन्ता कसलाई भन्ने बारे सामाजिक संजालमा रोइलो नै छ, जो पनि अभियन्ता भने जस्तो भएको छ । चर्चा परिचर्चा भइरहेका छन् । जसले पनि आफूलाई सामाजिक अभियन्ता भनेको देख्दा वा सुन्दा वास्तविक अभियन्ता र नक्कली कसरी छुट्याउने भन्ने समस्या आइपरेको छ । वास्तविकले अपमानबोध गर्नु पर्ने स्थिति बनेको छ ।
साथै यस्तै प्रवृत्तिका कारण हाम्रो समाज यस्तो अवस्थामा पुगेको छ कि नकारात्मक विषय खोजी खोजी हेर्नु यसको स्वभाव नै बन्न गएको प्रतीत हुन थालेको छ ।
समाजसेवा वा सामाजिक अभियन्ता आफूले आफैंलाई भन्ने शब्द नै होइन । यो त समाजिक प्रतिष्ठा हो, विशिष्ट पहिचान हो । समाजले दिएको नाम हो । तर सामाजिक संजालको बढ्दो प्रभावले अभियन्ता शब्द नै दुरुपयोग भइरहेको छ । भूकम्प, बढी पहिरो, कोरोना लकडाउन जस्ता विपत्मा राहत दिएको तस्बिरको अनावश्यक प्रचारले कतिपय मान्छेलाई सामाजिक अभियन्ता भएर चिनिने लोभ बढ्दो छ ।
अझ समाजमा यस्ता व्यक्ति अभियन्ता भएर देखिन थाले कि सुन्दै विचित्र लाग्छ । आफ्नो घरको झगडा मिलाउन सक्दैन तर अरुको घरमा गएर सम्झाउने बुझाउने गर्छ र उही अभियन्ता । साँच्चै जो आफूलाई अभियन्ता भन्न रुचाउछन् उनीहरुको घरको अवस्था हेर्न जरुरी छ । जसले आफ्नो घरलाई मिलाउन सक्तैन उसले समाजको हितको लागी कसरी कार्य गर्ला ?
कुनै पनि मानिसलाई वरपरको वातावरण, अनुशासनका साथै समाजबाट ग्रहण गर्ने व्यवहार र संस्कारले पनि उसको व्यक्तित्व, आचरण र विचारमा प्रभाव पर्छ फरक परिरहेको हुन्छ । समाजभित्र पनि अनेकन विचारका व्यक्तिहरु हुन्छन् । तिनैमध्ये वास्तविक अभियन्ता एक हो । समाजको हर तवरबाट उत्थान होस् भन्ने अभिप्रायले सामाजिक कार्यका अभियानमा समाजमा परिचित भएका मानिस सामाजिक अभियन्ता हुन् । त्यस्ता मानिसका कार्यले समाजमा सकारात्मक प्रभाव पर्छ । सबैको चेतनामा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सोचको उदय गराउन गराउन मद्दत गर्ने किसिमको हुन्छ । देश समाज र अरुबाट के लिन सक्छु भन्ने होइन कि यस्ता मानिस के दिन सक्छु भन्ने भावनाले ओतप्रोत रहेका हुन्छन् । कर्मप्रेरित हुन्छन् ।
अभियन्ता भनेर परिचित हुनको लागि देश भष्टाचारमा चुर्लुम्म डुबेको हुनु पर्छ त्यहाँ अभियन्ता बनेर देखा पर्नु पर्छ भन्ने होइन । परोपकारिताको ढोंग गर्नुको कुनै औचित्य छैन । यस्ता पनि भए कि भनिसाध्ये छैन, कसैलाई गाली गर्दा गर्दै, ठगिधन्दा गर्दा, कसैलाई अपमानित वा चरित्र हत्या गर्दै गर्दाको तस्बिर भाइरल गराएर वा भिडियो बनाएर अभियन्ता कहलाएका छन् । यस्तो बिकृती कहिलेसम्म हामीले स्वीकार्ने ?
सामाजिक अभियन्ता समाजको सकारात्मक अनुहार हुनुपर्छ । समाजका हरेक क्रियाकलापमा उर्जा थप्ने कार्य गरिरहेका हुनुपर्छ। एक असल व्यक्तिले समाजको लागि के ग¥यो भन्दा पनि के बोल्यो भन्ने कुरामा पनि ठूलो प्रभाव पर्ने गर्दछ । वास्तविक अभियन्ताको हरेक वाक्यांश प्रेरक बन्ने गर्दछ ।
……
अब सामाजिक अभियन्ताको बिषयमा बहस चलाउन जरुरी भइसकेको छ । सस्तो लोकप्रियता कमाउने ध्याउन्नमा अनेकांै प्रकारका चटके देखाइरहेका छन् । यस्ता क्रियाकलापमा सरकारी तथा गैरसरकारी निकाय पनि मुकदर्शक भएर बस्न बाध्य छन् । कतिपय त उनीहरुलाई नै पछ्याउने समेत गर्छन् ।
विभिन्न बाहानामा सडकमा निस्केर केही तस्बिर सामाजिक संजालमा पोस्ट गर्ने अनि हिट हुने । जसले बढी सरकारलाई गाली गर्न सक्यो वा नयाँ नयाँ शब्दावलीको गालीको बर्षात् गर्न माहिर भयो उही नै सामाजिक अभियन्ता कहलाउने चलन चल्न लागेको देखिन्छ । कतिपय संचारमाध्यमले पनि सकारात्मक संप्रेषण गर्न तर्फ नभइ भ्रम फैलाउने खालका समाचार दिदै आएका छन् । आफ्नो भ्युज बढाउने ध्यानमा संचारमाध्यमको आचारसंहिता भुलिरहेका छन् ।
अन्त्यमा, सामाजिक अभियन्तमा नम्रता, शिष्टता र धैर्य हुनु अनिवार्य छ । हाम्रो समाजमा बेथिति र कुसंस्कार विस्तारित भइरहेको छ, यसमाथि अंकुशको आवश्यकता छ । कसैको मानहानि र चरित्रहत्या गरेर सामाजिक अभियन्ता बनिदैन र यदि कोही त्यसरी बन्न चाहन्छ भने त्यस किसिमका पात्र र प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । परिभाषा अनुसार सामाजिक अभियन्ता समाजको मार्गदर्शक हो, विकृतिविरुद्ध प्रस्तुत हुने योद्धा हो । यसर्थ अभियन्ता अन्यथा हुनु हुँदैन, यसको परिभाषा सुहाउँदो हुनुपर्छ ।