काटेर डुबेको धान सुख्खा स्थानमा सार्न सुझाव

435
views

चितवन । वेमौसमी बर्षाले काटेको धान डुबाएपछि चिन्तित् बनेका कृषकहरुलाई कृषि प्राविधिकले डुबेको धान सुख्खा ठाउँमा सार्न सुझाव दिएका छन् । बर्षापछि चितवनका किसानको खेतमै पुगेका कृषि प्राविधिकहरुले धेरै तातो र धेरै चिसो हुँदा धान उम्रेर बिग्रन सक्ने भएको भन्दै सुख्खा स्थानमा राख्न अनुरोध गरेका हुन् ।

‘बढी तातो र चिसो भएमा धान उम्रेर नोक्सान हुन सक्छ’, प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना कार्यान्वयन एकाई चितवनका कृषि अधिकृत माधव पौडेलले किसानको खेतमा पुगेर सुझाव दिँदै भने, ‘सामान्य तापक्रममा रहनका लागि धानको तापक्रमलाई चलाइराख्नु पर्छ ।’ नकाटेको तर ढलेर डुवेको ठाउँमा पानी तर्काउन पनि सकिन्छ ।

पाँचदिन देखि लगातार परेको बर्षाका कारण काटेर सुकाएको धान र ढलेको धान खेतमै उम्रिन थालेको छ । खेतमा पानी बढी भएकाले काटेर सुकाएको धान निकाल्न नसकिएको साना किसान कृषि सहकारी संस्थाका बछ्यौलीका अध्यक्ष नारायण प्रसाद महत्तोले बताए ।

‘शनिवार देखि भिजेको धान घाम लगेपछि पुरै उम्रन्छ,’ खेतमा सुकाएको धान चलाउँदै महत्तोले भने, ‘धान कामै नलाग्ने गरि बिग्रने देखिन्छ ।’ उम्रेको धान हात्तिले नखाने भएकाले किसानहरुलाई राज्यले राहत दिनुपर्छ ।

चितवनमा २१ प्रतिशत धानमा क्षती भएको छ । ९ प्रतिशत काटेको धान डुवानमा परेको छ भने १३ प्रतिशत धान ढलेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनले जानकारी दिएको छ ।

पुर्वि चितवनमा काटेको सवैभन्दा बढी धान डुवेको छ । रत्ननगर नगरपालिकामा १२, खैरहनीमा २५, राप्ती नगरपालिकामा १२, भतरपुर महानगरपालिका ३, माडीमा ८, कालिकामा १२ र इच्छाकामनामा २ प्रतिशत काटेर राखेको धान खेतमा डुवेको छ । चितवनमा २२ हजार ९ सय २७ हेक्टरमा बर्षे धान लगाईएको थियो ।