वेस्ट इन्डिले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हरायो

84
views


एजेन्सी । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा सह–आयोजक वेस्ट इन्डिले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराएको छ ।
जितका लागि १ सय ३७ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले १९ औ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।
रोस्टन चेसले नटआउट रहँदै २७ बलमा ४२ रन तथा आन्द्रे रसलले नटआउट रहेर ९ बलमा १५ रन बनाउँदै वेस्ट इन्डिजलाई जित हात पारे। चेसले आफ्नो इनिङ्समा ४ चौका र २ छक्का प्रहार गरे ।
टोलीका लागि ब्रान्डन किंगले २९ बलमा ३४ रन तथा निकोलस पुरनले २७ बलमा २७ रन जोडे । कप्तान रोभमन पावेलले १५ रनको योगदान दिए ।
बलिङमा राम्रो चुनौती प्रस्तुत गरेको पीएनजीका लागि कप्तान असद भालाले २ विकेट लिए भने अलेई नाओ र चाद सोपर र जोन कारिकोले एक–एक विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । टोलीका लागि सेसे बाउले अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा ५० रन जोडे । यसक्रममा उनले ६ चौका र एक छक्का हिर्काए ।
त्यस्तै, किपलिन डोरिगाले १८ बलमा २७ रन बनाए भने कप्तान असद भालाले २२ बलमा २१ रनको योगदान दिए । चाल्र्स अमिनीले १४ बलमा १२ रन बनाए भने चाड सोपरले १० रन जोडे ।
वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले २–२ विकेट लिए । अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले १–१ विकेट हात पारे ।