मंगलबार राति नेपाल र नेदरल्यान्ड्स आईसीसी टी २० मा भिड्दै

105
views

नवदृष्टि संवाददाता
२२, जेष्ठ

काठमाडौ । दशवर्षपछि आईसीसी टी–२० विश्वकपको नवौ संस्करणमा मंगलबार राति नेपाल र नेदरल्यान्ड्सबिच प्रतिस्पर्धा हुदैछ ।
नेपाल र नेदरल्यान्ड्सबिचको आईसीसी टी–२० विश्वकपको नवौ संस्करणमा खेल अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा राति २१ ः१५ बजे सुरु हुनेछ ।
नेपाल र नेदरल्यान्ड्स प्रतियोगिताको समूह ‘डी’ मा रहेका छन् । जारी विश्वकपमा यी दुवै टोलीले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । उक्त समूहमा नेपाल र नेदरल्यान्ड्सका अतिरिक्त दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश पनि छन् ।
नेपालको टोली समूह ‘डी’ अन्तर्गत खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि खेलिएको उक्त समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो । सोही जितका कारण दक्षिण अफ्रिका दुई अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेदरल्यान्ड्स १५औ र नेपाल १७औ स्थानमा छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि नेदरल्यान्ड्स परिचित प्रतिद्वन्द्वी हो । नेपालले यसअघि पनि नेदरल्यान्ड्ससँग थुप्रै प्रतियोगिता खेलिसकेको छ ।
आईसीसी टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । नेपाली टोलीले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो ।
बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो । त्यतिबेला पनि एसोसिएट सदस्य राष्ट्र नेपालले छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको  थियो ।