कास्कीमा बाढीपहिरोमा ११ को मृत्यु

97
views

पोखरा, २८, असार । लगातार परेको अविरल वर्षाका कारण गएराती कास्कीमा आएको बाढीपहिरोले ११ जनाको मृत्यु भएको छ । पहिरोमा परि ४ जना घाइते भएका छन् ।

पहिरोले पुरिँदा पोखरा महानगरपालिका वडा नं १९ पुरनचौरमा ७ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृतकहरुमा वर्ष ४७ का कुलबहादुर परियार, उनकी ४३ वर्षीय श्रीमती मनकुमारी, आमा ८५ वर्षकी लक्षिमा, छोरीहरू १५ वर्षकी प्रसना, २० वर्षकी प्रभा र वर्ष २५ का ज्वाइँ अस्मित परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए ।

उक्त पहिरोमा परि मृत्यु भएको देखेपछि ४६ वर्षीया राधिका परियारको हर्ट अट्याक भई मृत्यु भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

त्यसैगरी कास्कीकै मादी ११ तल्लो साप्लेमा हुमबहादुर गुरुङको घरमा पहिरो आउँदा ८० वर्षीय माइती गुरुङको मृत्यु भएको छ ।

त्यसै पोखरा महानगरपालिका वडा नं ३० र ३२ को सिमानामा रहेको चैनपुरमा आरती ओझाको घरमा बाढी पस्दा छोरीहरू १८ वर्षकी अस्मिता, ११ वर्षकी अनुष्का र उनका भतिज ९ वर्षीय पुष्प सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भिन्नभिन्न बाढी र पहिरोमा परि चारजना घाईते भएका छन् ।