ओलीले लिए प्रधानमन्त्रीको शपथ

50
views

नवदृष्टि संवाददाता
काठमाडौ, ३१, असार
काठमाडौ । प्रतिनिधिसभाका दुई ठुला राजनीतिक दल कांग्रेस र एमालेबिचको सहमति अनुसार फेरिएको राजनितिक घटनाक्रम पछि नवनियुक्त प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५ औ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् ।
शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा ९ जना नयाँ मन्त्रीले मौका पाएका छन् । नेपाली कांग्रेसबाट ७ र एमालेबाट चार जना नयाँले अवसर पाएका हुन् ।

कांग्रेसबाट आरजु राणा देउवा, प्रदीप पौडेल, रामनाथ अधिकारी, बद्री पाण्डे र ऐनबहादुर शाही (ठकुरी) मन्त्री बनेका छन् । देउवा परराष्ट्र, पौडेल स्वास्थ्य, पाण्डे पर्यटन, चौरासिया कानुन र शाही बन मन्त्री बनेका छन् ।
यस्तै एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ताले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका छन् ।