पर्वतमा पहिलो पटक एक चिहान नाटक मञ्चन हुदै

20
views

नवदृष्टि संवाददाता

पर्वत, १८ साउन
  जिल्लाको कुश्माबजारमा एक चिहान नाटक मञ्चन हुने भएको छ । पोखरा थिएटरको आयोजनामा पर्वत उद्योग वाणिज्य सङ्घको सभा हलमा अस्थायी ‘थिएटर’ निर्माण गरेर साउन २०, २१ र २२ गते दैनिक ३ ‘शो’ नाटक मञ्चन गरिने भएको छ । ह्दयचन्द्रसिंह प्रधानको उपन्यास एक चिहानलाई नाटकको रुपमा मञ्चन गर्न लागिएको हो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा पछिल्लो केही वर्षयता बर्सेनि र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा प्रदर्शन भएको साहित्यकार ह्दयसिंह प्रधानको उपन्यास ‘एक चिहान’ पर्वतमा पहिलो पटक प्रदर्शन गर्न लागिएको छ ।
विद्यालय तहको कक्षा १२ को अनिवार्य नेपाली विषयमा विद्यार्थीले अध्ययन गर्नुपर्ने उक्त कृतिलाई नाट्य रूपान्तरण गरेर विद्यार्थीलाई केन्द्रित गरेर प्रदर्शन गर्न लागिएको नाटकका निर्देशक परिवर्तनले जानाकारी दिएका छन् ।
नाटक विद्यार्थीको सिकाइका लागि पनि सहयोगी बन्ने अपेक्षा गरिएको उनको भनाइ छ। नेपाली गरिब किसान र मजदुरको जीवनमा आधारित यो नाटक सामाजिक यथार्थवादी नाटक भएको उनले बताए ।
नाटक हेर्ने अवसर नपाएसम्म नाटक र चलचित्रमा खेल्ने कल्पना विद्यार्थीले नगर्ने भएकाले आगामी कलाकार जन्माउनको लागि र विद्यार्थीहरूलाई सृजनशील बनाउनको लागि पनि यो अभियानले सहयोग पुग्ने परिवर्तनले बताए ।
गरिबी, बाध्यता र विवशताको परिवेशमा न्यूनवर्गीय जीवनका जटिलता र सङ्घर्ष प्रस्तुत भएको नाटकमा विशेष गरी नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ । नेवारी पोसाक, नेवारी लवजले नाटकलाई परिपक्व बनाउन सघाएको छ । पर्वत सदरमुकाम कुश्मा बजार र आसपासका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरी नाटक मञ्चन गरिएको हो ।
उपन्यास ‘एक चिहान’ लाई नाट्य रूपान्तरण नाटकका निर्देशन परिवर्तनले नै गरेका हुन् । नाटक झन्डै १ घण्टा ३० मिनेटको छ ।
नाटकमा जनक पराजुली, रोशनी रामदाम‚ प्रमीला तुलाचन, रवीन्द्र मल्ल, उमा पुन, प्रकाश रेग्मी, एलिसा भोग, दिप्सना विश्वकर्मा, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, रमेशबाबु तिमिल्सिना, परिवर्तन, अजय जिसी‚ रोहित पौडेल, रुबीना मगर, प्रतीक घिमिरेलगायतको अभिनय रहेको छ ।
नाटकको विस्तारीकरण र दर्शक बढाउनको लागि ‘गण्डकी नाट्य यात्रा’ अभियान शुरु गरेर प्रदेशका एघार जिल्लाहरूमा मञ्चनको तयारी गरिएको छ तर हिमालपारीका दुई जिल्लाहरू मनाङ र मुस्ताङमा भने प्रदर्शनको सुनिश्चितता भइसकेको छैन ।