के तपाई ट्रायल पास गर्न चाहानुहुन्छ ? यि ७ कुरामा ध्यान दिनुहोस्

495
views

पर्वत, २९, साउन । दुईपाङ्ग्रे सवारी साधन चालक अनुमति पत्रको नयाँ प्रयोगात्मक परिक्षा प्रणाली सुरु भएको छ । नयाँ प्रणालीमा केही साना गल्तिहरु गर्दा समेत फेल हुने अवस्थाको अन्त्य भएको छ । त्यसको लागि नयाँ कार्यविधि तयार भएको हो ।

यातायात व्यवस्था विभागले लिने सवारीसाधनको ट्रायल परिक्षालाई १०० पूर्णाङ्कमा निर्धारण गरेर कम्तीमा ७० अंक ल्याएमा सवारीसाधन चलाउनका लागि योग्य ठहर्छ ।

‘अहिले फेल हुने संख्या अत्यन्त धेरै रहेको र सामान्य गल्तिमा पनि फेल हुने अवस्था रहेकाले लिखित र प्रयोगात्मक दुबै परिक्षा प्रणालीमा परिमार्जन गरिएको हो । यसले पास हुनेको संख्या बढ्ने र बीचमा चलखेल गर्नेहरुको पनि बाटो बन्द हुने अवस्था आउने देखेर नयाँ कार्यविधि आएको हो ।

यसरी विभागले नयाँ कार्यविधि लागु गरेसँगै अब चालकले ७ स्थानमा विशेष ध्यान दिदा सहजै चालक अनसमतिपत्र पाउने अवस्था आउन सक्ने छ ।

१. आठ

ट्रायल परिक्षा दिँदा सुरुमा आठ आकारमा मोटरसाइकल तथा स्कुटर घुमाउनु पर्ने हुन्छ । यसमा परिक्षार्थीले दुई वटासम्म गल्ती गर्दापनि पास हुने अवस्था रहेको छ । पहिलो पटक चालकले आठ आकारमा लगाइएको पहेले धर्का कोरिएको लाइन छोएमा पनि फेल हुने छैन । तर, यस वापत ५ अंक भने घट्ने छ । यसरी पहेले धर्का छुँदैमा आत्तिनु पर्दैन । यो धर्कालाई क्रस गरेर टायर बाहिर जान नदिइ गुडाई रहनु पर्छ ।

त्यसैगरि आठको घेरा भित्र एक पटक खुट्टा टेक्दा पनि पहिले जस्तो फेल घोषणा हुँदैन । तर, यसमा पनि ५ अंक भने घट्ने छ । आठको अंकभार २० रहेको हुन्छ । यसमा अनिर्वाय १० अंक भने ल्याउनु पर्छ । त्यसैले आठमा चलाउँदा निकै संयम भएर चलाउनु पर्छ ।

२. साघुँरो फलेक

यहाँ परिक्षार्थीलाई गल्ति गर्ने छुट हुने छैन । यहाँ कुनै पनि गल्ति भएको खण्डमा सिधै फेल ठहर हुनेछ । यसमा खुट्टाले भुइ छोएमा वा फलेक बाहिर सवारीसाधन गएमा ट्राफिक प्रहरीले सिठ्ठी फुक्ने छन् । यसका लागि परिक्षार्थीले आठबाट बाहिर निस्किए पश्चात् सिधा अगाडि रहेको साघुँरो बाटोमा बिशेष ध्यान दिएर अगाडि बढ्नु पर्छ ।

३. टर्न इन्डिकेटर

यो साधुरो फलेक पार गर्ने बित्तिकै अगाडि यू टर्न रहेको हुन्छ । यू टर्नमा इन्डिकेटर बाल्न बिर्सेको खण्डमा भने १० अंक घट्ने छ । यसको कुल अंकभार १० पनि १० नै रहेको छ । तपाईले अगाडि राम्रोसँग पार गरेर आउनु भएको छ भने टर्न इन्डिकेटर वाल्न विर्षेको भरमा नै तपाई फेल हुनु पर्दैन ।

४. ट्राफिक लाइट

यू टर्न सकिएपछि अगाडि ट्राफिक लाइट रहेको हुन्छ । त्याहाँ जेब्रा क्रस समेत रहेको हुन्छ । ट्राफिक बत्तीको इसारा बुझेर अगाडि बढ्नु पर्ने हुन्छ । रेड लाइट बलेको छ भने रोक्नु पर्ने हुन्छ । रातो बत्ति बलेको अबस्थामा अगाडिको रेखा टच नगरि रोकेर बस्नु पर्ने हुन्छ । यहाँ ट्राफिक संकेतको पालना नगरेमा १५ अंक माइनस हुनेछ भने यसको अंकभार पनि १५ नै रहेको छ । अगाडि कुनै गल्ती विना तपाई आउनु भएको छ भने यहाँको गल्तीका कारण फेल हुनु पर्दैन ।

५. स्पीड ब्रेकर/उबड खाबड

यो स्थानमा १५ अंकको परिक्षा हुन्छ । यसमा परिक्षार्थीले दुई पटकसम्म गल्ती गरेमा फेल हुँदैन । यहाँ एक पटकसम्म खुट्टा भुइमा टेक्ने र एक पटक स्टार्ट बन्द भएमा ५÷५ अंक माइनस हुनेछ । एक पटकभन्दा धेरै गल्ती भएमा मात्र फेल घोषणा हुनेछ ।

६. उकालो/ओरालो

यसको अंकभार २० रहेको छ । यसमा कुनै गल्ती भएमा सिधै फेल घोषणा हुनेछ । उकालो तथा ओरालोमा तोकिएको रेखा कटेर बीचमा रोकिनु पर्नेछ । यहाँ देब्रे खुट्टामात्र टेक्न पाइने हुन्छ । रोकिएको सवारीसाधन उठाउँदा ६ इन्चभन्दा बढी पछाडि सरेमा फेल हुनेछ । यसलाई राम्रोसँग ध्यान दिनु पर्छ ।

७. अन्य

सवारीसाधन स्टार्ट गर्नुअघि टायरमा हावा छ वा छैन भनेर हेर्नु पर्छ, लुकिङ ग्लास, ब्रेकको निरिक्षण गर्नु पर्ने हुन्छ । यसो नगरेमा ३ अंक काटिने छ । त्यसैगरि अस्वभाविक गतिमा वा असंयमित भएर सवारी चलाएमा पनि अर्को ३ अंक काटिने छ । समग्रमा ७० अंक ल्याएमा सवारी चालक अनुमति प्राप्त गर्न सकिने छ ।