मालढुंगा–बेनी सडक आजदेखि दैनिक ६ घण्टा बन्द

22
views

गोपाल जिसी
पर्वत, ४, मंसिर । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडकखण्ड आजबाट ८ दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।सडक कालोपत्र र स्तरोन्नतिका लागि आज मंसिर ४ गतेदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा बन्द गर्न लागिएको हो ।

आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए ।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा सडकको क्षेत्राधिकारमा पर्ने ढुंगा फुटाएर पन्छाउन र मालढुंगाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउन लागिएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिहरुको बैठकले सवारीसाधन आवतजावत रोकेर सडक निर्माण गर्ने निर्णय गरेको थियो ।

उक्त खण्ड अवरुद्ध हुँदा मालढुंगा–बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।अन्य सवारीका लागि सडक अवरुद्ध भए पनि अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनमा भने सहजीकरण गरिने बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।