म्याग्दी, २८ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक अब गणतान्त्रिक यात्राबाट पछाडी नफर्कन वताए । उनले भने ‘मुलुक गणतन्त्रबाट अघि बढिसकेकोले अब यसबाट पछि फर्कने सम्भावना छैन ।’
म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ मा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूहरुले लामो राजनीतिक संघर्ष र जनताको बलबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा मुलुक अघि बढिरहेकोले अब पछि फर्कने कुनै सम्भावना नरहेको जिकिर गरे ।
उनले भने,‘यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघिबढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ ।’ उनले अहिले जनताको घरदैलोमा आफू अभियान लिएर हिँडेको भन्दै जनताका हर समस्या समाधान गरिने विश्वास दिलाए ।