सिन्धुलीमा १६ जनाको परिवार सम्पर्कविहीन

19
views

काठमाण्डौ, १२, साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिक भण्डास बिप्पर कटेरीमा रहेका उर्मिला हायूसहित १६ जनाको परिवार चार दिनदेखि बेपत्ता भएका छन् ।एकान्तमा रहेको घरमा छिमेकी पुग्दा कोहीपनि नभेटिएपछि प्रहरीसहितको टोली पुग्दा कोही पनि नभेटिएको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए ।

सम्पर्कविहीन रहनेमा ५२ वर्षीया उर्मिलासँगै उनका ६ जना छोरा, ६ जना छोरी, एक जना ज्वाइँ, एक बुहारी र एकजना नाती रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उर्मिलाका श्रीमान्को तीन वर्षअघि निधन भएको थियो । जस्तापाताले छाएको मूल घरको पालीमा खरले छाएको भान्साकोठा थियो । आगलागीले भान्साकोठा जलेको देखिन्छ । उनीहरूले शुक्रवार सुँगुर काटेर खाएको छिमेकीले बताएका छन् । बाख्रा, कुकुर र भैँसी भने त्यहीँ छाडेका छन् ।

सम्पर्कविहीन भएका हायू परिवारको खोजी भइरहेको भए पनि अहिलेसम्म सम्पर्कमा नआएका प्रहरीले जनाएको छ । उनीहरूले प्रयाग गर्ने मोबाइल स्विच अफ गर्नुअघि रामेछापको मन्थलीमा रहेको टावरसँग कनेक्शन देखिएको प्रहरीले जनाएको छ ।