अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट ‘वर्किङ भ्याकेशन’ का रुपमा १७ दिन विदामा बस्ने

1232
views

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अगस्टको गर्मीलाई छल्नका लागि भन्दै आम नागरिकसरह छुट्टी लिएर बस्ने भएका छन् । यसअघि छुट्टीका विरोधीका रुपमा देखिएका उनी १७ दिन विदा लिएर न्यु जर्सीको वेस्टमिन्स्टरस्थित आफ्नो निजी गल्फ क्लबमा बिताउन लागेका हुन् । उनले ह्वाइट हाउसबाट ‘वर्किङ भ्याकेशन’ का रुपमा छुट्टी लिन लागेका हुन् । आफूलाई कामबाट कहिल्यै पनि नथाक्ने व्यक्तिका रुपमा प्रचार गर्दै आएका ट्रम्प आफैंले विदामा दुई साताभन्दा लामो विदा बस्ने निर्णय गरेपछि आम जनता समेत चकित भएका छन् ।
सन् २००४ मा प्रकाशित भएको आफ्नो पुस्तकमा उनले लेखेका थिए, ‘छुट्टी नलेउ । यदि तिमी काममा आनन्द लिइरहेका छैनौं भने तिमीले गलत जागर गरिरहेका छौं ।’ उनको यो भनाईलाई मान्ने हो भने उनी अहिले अमेरिकी राष्ट्रपति पदमा समेत रमाइरहेका छैनन् भन्ने बुझिन्छ ।
ह्वाइट हाउसका प्रवक्ता लिन्डसे वाल्टर्सका अनुसार ट्रम्पको विदा पहिलेकै योजना अनुसारको हो । जसअनुसार अगस्ट महिनामा हाउसको पश्चिमी भाग खाली गर्नु थियो ।
यसका साथै सबै कर्मचारीलाई समेत यो समयमा २७ वर्ष पुरानो भवनमा एयर कन्डिसन, भेन्टिलेसन प्रणाली परिवर्तन गर्नका लागि विदा दिइने जनाइएको छ । सो भवनको मर्मत, रंगरोगनका साथै पर्दा र पानी चुवाहत रोक्नका लागि पनि यही समयमा काम हुने बताइएको छ ।
यदि उनको छुट्टीमा शनिबार र आइतबार जोड्ने हो भने १३ दिन छुट्टीमा रहनेछन् । जबकी पूर्व राष्ट्रपति ओबामा ८ दिन विदामा बसेका थिए । चुनावका क्रममा भर्जि्नियामा ट्रम्पले ओबामाले लिएको छुट्टीतर्फ इंगित गर्दै भनेका थिए, ‘म गल्फ खेल्न जान लागेको नभई तपाईहरुका लागि काम गर्न जान लागेको हो ।’सन् २००९ को अगस्टमा लिएको छुट्टीको अलवा ओबामाले जरुरी कामका लागि अन्य २ वटा छुट्टी लिएका थिए । एक छुट्टीमा एरिजोना र कोलोराडो भ्रमणमा भएका थिए भने अर्को छुट्टीमा उनले भ्यालेन्टाइन डे मनाउन लिएका थिए ।
यो छुट्टी चार दिनको थियो र त्यसमा उनी परिवारसँग शिकागो गएका थिए । यसअघि पनि ट्रम्पले ११ दिन वर्किङ भ्याकेसन लिएर पाम बिच, फ्लोरिडा र न्यु जर्सी गएका थिए भने जुनमा उनले मेरिल्यान्डस्थित राष्ट्रपतिका लागि निर्माण गरिएको क्याम्प डेभिडमा विकिण्ड मनाएका थिए ।
सन् २००८ मा लेखेको आफ्नो पुस्तक ‘द अडासिटी अफ होप’ मा उनले ओबामालाई ‘पाखन्डी’ भन्दै तल्लो स्तरको शब्दले गाली गरेका थिए । उनले कुनै राष्ट्रपतिले छुट्टी लिन नहुने उनको भनाई थियो ।
गत वर्षको नोभेम्बरमा ६० मिनेट लामो भाषणमा उनले आफूले धेरै काम गर्नुपर्ने भन्दै छुट्टी नलिने बताएका थिए । गत महिना उनले रिपब्लिकन सांसदलाई स्वास्थ्य सम्बन्धि कानुन ओबामा केयर असफल नबनाउन्जेलसम्म छुट्टी नलिन आग्रह गरेका थिए ।
यो कानुन उल्टाउने विधेयकलाई नै सिनेटले असफल बनाइदिएपछि उनको चाहाना पुरा हुन सकेन । अमेरिकी संसदले ५ सेम्टेम्बरसम्म यसलाई स्थगित गरिदिएको छ । वेस्टमिन्स्टरमा राष्ट्रपति आउने भएपछि कडा पारिएको सुरक्षा व्यवस्थाका कारण आम जनताले हैरानी बेहोर्नु परेको छ । स्थानीय विमानस्थल २० अगस्टसम्म बन्द गरिएको छ । जहाँ ११० निजी र ६० स्कुले विद्यार्थीका विमान अवतरण हुने गर्दछन् ।