चारसय बर्ष अघिदेखी सुदुर पश्चिमले मनाउने गौरा पर्व यसरी मनाइन्छ

2350
views

नवदृष्टि संवाददाता
बझाङ,१३, भदौ । सुदुर पश्चिममा झन्डै चारसय बर्ष अघिदेखी मनाईदै आएको गौरा पर्व सुदुर पश्चिमका २५ लाख जनसंख्याको मुख्य पर्व मानिन्छ ।यस पर्वलाई महादेवी पार्वतीको स्मृति पर्व समेत भन्ने गरिन्छ । गौरा पर्व सुदूरपश्चिम सहित मध्यपश्चिमका पहाडी जिल्ला र भारतको कुमाउँ–गढवालमा समेत मनाउने प्रचलन रहेको छ ।

प्राचीन हैहयावंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उहाँकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ ।
भाद्र शुक्ल पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घरघरमा महिलाले तामाको भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न (गहुँ, केराउ, गहत, मास र गुरौस) भिजाएर पर्वको शुरुवात गरिन्छ । दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहूर्तमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । धानको बाली, कुश र फलफूलको हाँगा बेरेर शिव–पार्वतीको मूर्ति बनाइन्छ र बाहिरबाट कपडाले ढाकेर बेहुली जस्तै सिँगारिन्छ । त्यही नै गौरा हो, गौराको प्रतीक हो ।
सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । अष्टमीका दिन गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा, साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको छ । शिव–पार्वतीको प्रेम अनि विवाहको स्मरण गर्दै महिलाहरुले करिब ३–५ दिनसम्म एक मात्र फलाहार खाएर व्रत बसी विधिविधानअनुसार शिव–पार्वतीको पूजा आराधना गर्दै धुमारी जस्ता गीत गाउने गर्छन् । धार्मिक मान्यताअनुसार पौराणिक कालमा पार्वतीले निराहार व्रत बसी नित्य आराधना गरी भगवान शिवलाई वरको रुपमा प्राप्त गरेको किम्बदन्ती छ। त्यसैको सम्झनामा शिव–पार्वतीको पूजा आजा गर्दै देउडा खेलेर यो पर्व मनाउने गरिन्छ । गौरापर्वमा देउडा गीतका माध्यमबाट एक अर्कामा सुख–दुख तथा माया–प्रेम बाँड्ने गरिन्छ । गौरा पर्वलाई एकताको पर्वको रुपमा लिने गरिन्छ । गौरा पर्वमा मुख्यत गौरी, शिव र गणेशको पूजा गरिन्छ ।