समाजवादी फोरमले कांग्रेससँगको मतान्तर बढायो, वीरगञ्जमा आ–आफ्नै विश्लेषण

2043
views

वीरगञ्ज, ९ असेज । २० हजारको हाराहारीमा मत गन्न बाँकी रहँदा प्रदेश नम्बर दुईको एक मात्र महानगरमा आधाभन्दा मत गनिसक्दा संघीय समाजवादी फोरमका विजय सरावगीले ६ सय बढी मतले कांग्रेस उम्मेदवार विजय द्वीवेदीलाई उछिनेका छन् । जारी मतगणनामा द्वेदी र सरावगीको अग्रताको लुकामारीले महानगरको परिणामप्रति सबैको चासो सृजना गरेको छ ।
पछिल्लो मत परिणाम अनुसार फोरमका सरवगीले १३२५९ मत पाएका छन् भने द्वीवेदीले उनको भन्दा १२६३१ मत ल्याएका छन्। यद्यपी कुल ३२ वडा रहेको वीरगञ्जमा मतगणना भइरहेको छ। १ लाख ८ हजार ५ सय १ मतदाता रहेको यस महानगरपालिकामा ८५ हजार ४ सय ६४ मत खसेको छ।
व्यापारिक पृष्ठभूमीका संघीय फोरमका उम्मेदवार सरावगीले अब बाँकी रहेका सबै स्थानमा आफूले कांग्रेसलाई टक्कर दिने र केही स्थानहरुमा कांग्रेसको भन्दा आफ्नो पार्टीको मत राम्रो रहेकाले आफूले जित निकाल्ने दाबी गरेका छन्। उनले १६ र १७ नम्बर वडामा आफ्नो मत धेरै रहेको र यिनै वडाले नै आफ्नो पक्षमा फैसला दिने आशा गरेका छन् ।
यति हुँदाहुँदै पनि महानगरमा कसले जित्छ भन्नेमा दुबै उम्मेदवारहरु सतप्रतिशत ढुक्क भने छैनन्। ‘चुनाव हो, यसै भनेर कसरी भन्ने?’ सरावगीले भने, ‘जनताको फैसला जस्तो आए पनि म मान्न तयार छु।’
उता तुलनात्मक रुपमा कांग्रेसको राम्रो भनिएको महानगर वीरगञ्जमा अहिलेसम्मको मतान्तरले कांग्रेस उम्मेदवार द्वीवेदीलाई छटपटी पैदा गरेको छ। उनले पनि आफूले जित्ने या हार्ने कुनै टुंगो भइनसकेको प्रतिक्रिया दिएका छन् ।
यसअघि मतगणना गरिएका कतिपय कांग्रेसको पकड भनिएका स्थानमा कांग्रेसका मत खासगरी राजपा उम्मेदवारको पोल्टामा पुगेको विश्लेषण पर्सा कांग्रेसका नेताहरुको छ। अब मतगणना हुने परवानीपुर, रामरावैग र भवानीपुरमा पनि कांग्रेसको धेरै मत ल्याउने आशा त गरेको छ तर मतगणनाको ‘ट्रेन्ड’ हेर्दा विश्वस्त हुने अवस्था छैन ।
जगनाथपुर र अलौमा संघीय समाजवादी फोरमका उम्मेदवारको राम्रो पकड मानिएको छ । तर यहाँ राजपाले कति मत ल्याउँछ भन्ने आधारमा मात्र द्वेदीले अग्रता कायम राख्ने या पछि पर्ने भन्ने कुरा तय हुन्छ। मत गणना भइरहेकामध्ये १३ नम्बर वडामा एमाले र १४ मा माओवादीको प्रभाव बढी मानिन्छ तर १४ बाट सरावगीले राम्रो मत लैजाने अपेक्षा संघीय फोमको छ । यदि यस्तो भयो भने अजय द्ववेदीसँग उनको मतान्तर अझै बढ्न सक्छ ।
त्यसैगरी १२ र १५ नम्बर वार्डमा कांग्रेसले अपेक्षा अनुसारको मत पायो र एमाले तथा माओवादीले आ–आफ्ना वडाहरु जोगाउन सकेको अवस्थामा भने कांग्रेस उम्मेदवार अजय द्ववेदीले मतान्तर बढाउन सक्छन् ।
हरेक चुनावमा कोल्टे फेर्छ वीरगञ्ज
विगतको चुनावी ‘ट्रेन्ड’ हेर्दा वीरगञ्ज महानगर भित्रका मतदाताले प्रत्येकपटक नयाँ अनुहारलाई अवसर प्रदान गरेको देखिन्छ। हरेक पटक नयाँलाई अवसर दिन माहिर वीरगञ्जको चरित्रका कारण यस महानगरलाई कुनै अमुक दलको गढ मान्न सकिँदैन। एउटै व्यक्तिलाई पटकपटक दोहो¥याउने चरित्र नभएका कारण वीरगञ्जले अस्थिर चुनावी परिणाम दिँदै आएको छ ।
वीरगञ्जमा कांग्रेस, राप्रपा, तत्कालिन मधेसी जनअधिकार फोरम र स्वतन्त्र उम्मेदवारले समेत जितेको इतिहास छ । ०४८ सालको निर्वाचनमा कांग्रेसका आत्माराम ओझा विजयी भएका थिए। ०४९ को स्थानीय निर्वाचनमा कांग्रेसका माधवलाल श्रेष्ठले मेयरमा बाजी मारे।
०५४ सालको स्थानीय निकायको निर्वाचनमा विमलप्रसाद श्रीवास्तवको नेतृत्वमा स्वतन्त्र समूहले शानदार विजय हासिल गरेको थियो ।
०५६ सालको संसदीय निर्वाचनमा पर्साको क्षेत्र नम्बर १ बाट कांग्रेसका कृष्णप्रसाद भट्टराई विजयी भएका थिए। यस्तै, पहिलो संविधानसभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट तत्कालिन मधेसी जनअधिकार फोरमबाट करिमा बेगम फराकिलो मतान्तरसहित विजयी भएकी थिइन्। क्षेत्र नम्बर २ बाट भने नेपाली कांग्रेसका अजय द्विवेदी विजयी भए। दोश्रो संविधान सभाको निर्वाचनसम्म आइपुग्दा बेगम र द्विवेदी दुवैजना पराजित भए।
दोश्रो संविधानसभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट कांग्रेसका राजेन्द्र अमात्य र क्षेत्र नम्बर २ बाट एमालेका विचारी यादव विजयी भएका थिए । निर्वाचनको यो ट्रेन्ड हेर्दा वीरगञ्ज नयाँ अनुहारका लागि अत्यन्त उर्बर सहर हो ।