फुटेर होईन जुटेर समाजवाद–पुष्पकमल दाहाल ‘प्रचण्ड’

1259
views

नवदृष्टि संवाददाता । एकाधमा पाईने त्यो क्षमता पुष्पकमल दाहाल प्रचण्डमा मात्रै हो कि भन्ने पछिल्लो समयले बताउन थालेको छ । चर्चित सेक्टर काण्डपछि प्रचण्डको नेतृत्व अहिलेसम्म सफल या असफल समयान्तरले देखाउला तर उनका ति प्रयासहरु अग्रतामा नै रहेका छन् ।

हुन त प्रचण्डलाई क्रान्तिकारी दृष्टिगोचर लगाउनेहरु दक्षिणपन्थी सुधारवादी भन्नेहरु पनि छन् तर, प्रचण्डको ट्रेण्ड त्यसतर्फ गईरहेको छैन् । प्रचण्डले विगत देखी नै पुरानोलाई ध्वंस र नयाँको निर्माण गरे स्वयं प्रचण्डले सार्वजनिक अभिव्यक्ति समेत दिन थालेका छन् ।

उनले पछिल्लो समयमा आफ्नै नेतृत्वको माओवादी केन्द्र ध्वंस गर्ने र एमालेसँगको एकतामा नयाँ पार्टीको निर्माण गर्ने बताउँदै चुनावी तालमेल हुँदै अन्तत एकता कै तयारीमा छन् । पुष्पकमल दाहाल प्रचण्डले एकताको उद्घोष पछि आफ्नो पार्टीबाट बाहिरिएका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई समेत तामेलसँगै एकतामा सहभागी गराउनेमा सफल भए भने बामपन्थीमा ठुलो भनिएको पार्टी एमालेपनि एकताका लागि तयार भैसकेको छ । यसैबीच नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच बुधबार पार्टी एकता भएको छ ।

राजधानीको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा माओवादी अध्यक्ष प्रचण्ड र संयुक्तका अध्यक्ष गणेश साहले एकता घोषणा सम्वन्धी पत्रमा हस्ताक्षर गर्दै पार्टी एकता भएको घोषणा गरेका छन् । उक्त घोषणलाई संबोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरुबीच नयाँ एकता र धु्रवीकरणको श्रृंखला भएको उद्घोष गरे ।

उनले भने संयुक्तसँगको एकता सच्चा कम्युनिष्ट क्रान्तिकारी र श्रमजिवी जनताहरुका लागि खुसीको कुरा भएको बताए । एकताका क्रममा प्रचण्डले मोहन वैद्य किरण प्रति सांकेतिक भाषाको प्रयोग गर्दै विश्व कम्युनिष्ट आन्दोलन यति बेला रक्षात्मक अवस्थामा रहेको बताउँदै नेपाली कम्युनिष्ट आन्दोलन अहिले आक्रमक अवस्थामा भएको बताए । प्रचण्डले स्थानीय तहको चुनावकै क्रममा रोल्पामा वैधानिक जनसत्ता चलाउने भनि उद्घोष गरेको स्मरण गर्दै सबै कम्युनिष्टले चाहेका समाजवादी क्रान्ति एकताबाट संमभव हुने बताउँदै भने ‘दुई तिहाइ नेपाली जनता अहिले पनि वामपन्थी विचारका रहेकाले झुण्डमा बसेर समाजवादी क्रान्ति नहुने तर सबै बाम एकैै ठाम भए नेपालमा समाजवादी क्रान्ति सम्पन्न गर्न सकिने बताए ।

सो अवसरमा नेकपा संयुक्तका गणेश अध्यक्ष साहले यो एकताले सामन्तवादको अन्त्य गर्दै समाजवादको जग बसाल्ने बताए । आगामी निर्वाचनमा माओवादी केन्द्रलाई आर्थिक, भौतिक, नैतिक सहयोग गरिदिन पनि उनले सबैलाई अपिल गरे । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा नेकपा संयुक्तका तीन जना सांसद सहभागी छन् ।
यस्तो छ माओवादी केन्द्र र संयुक्त नेकपाको प्रेस वक्तव्य
देशको क्रान्तिकारी परिवर्तन र लोकतान्त्रिक रुपान्तरणका लागि निरन्तर संघर्ष गर्दै अलग अलग पृष्ठभूमिबाट आएका हामी दुई राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बीच पार्टी एकता गर्न सहमत भएका छौं ।

हामीबीच रहेका कतिपय सैद्धान्तिक, राजनीतिक तथा संगठनात्मक विषयमा खुला र मैत्रीपूर्ण विचारधारात्मक छलफल गर्दै समान धारणा बनाउन प्रयत्न गरिने छ । पार्टी एकतामा आबद्ध सबै तहका नेता तथा कार्यकर्ताको आपसी छलफल गर्दै सम्मानजनक समायोजन र व्यवस्थापन गर्ने सहमति भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी्भित्र यसको संस्थापन कालदेखि नै विचारधारात्मक र राजनीतिक बहस, संघर्ष, विभाजन र एकताका श्रृङ्खलाहरु पार गर्दै आजको स्थितिसम्म आइपुगेको छ । देशका सच्चा वामपन्थी, देशभक्त, कम्युनिष्ट क्रान्तिकारीहरुको विशाल जनमत विभाजित हुँदा सधैं सामन्ती, दलाल र नोकरशाह वर्ग हावी हुने गरेको कुरा आत्मसात गर्दै देशका दुई ठूला राजनीतिक पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) लगायतका पार्टीहरु बीच भएको चुनावी तालमेल र पार्टी एकताको सहमति, जनताको चाहना र नेपाली कम्युनिष्ट आन्दोलनको पछिल्लो ऐतिहासिक कदम भएको ठहर गर्दै हामी त्यसको स्वागत गर्दछौं । यसबाट आगामी निर्वाचनलाई परिणाममूखी बनाउन महत्वपूर्ण सहयोग पुग्ने कुरामा पनि हामी विश्वस्त छौं ।

नेपाली जनताले लोकतन्त्र र नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि गरेको लामो बलिदानी संघर्ष विशेष गरी महान् जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको नयाँ संविधानमा संस्थागत गरिएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक समेतका जनअधिकारको संस्थागत विकास गर्न हामी प्रतिबद्ध छौं ।

उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका जनताका अग्रगामी अधिकारलाई संस्थागत गर्दै सामाजिक न्याय सहितको समाजवादउन्मुख अर्थराजनीतिको विकासका लागि निरन्तर संघर्ष गर्ने सङ्कल्पसहित विभिन्न समूहमा छरिएर रहेका वामपन्थी कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध हुनुपर्ने ऐतिहासिक आवश्यकता महशुस गरेका छौं । राष्ट्रियता, राष्ट्रिय अखण्डता र देशको अग्रगामी विकासका लागि विभिन्न समुहमा रहेका प्रगतिशील, वामपन्थी, देशभक्त गणतान्त्रिक शक्तिहरूलाई वृहत ध्रुवीकरणमा सामेल हुन हार्दिक अपील पनि गर्दछौं ।