प्राविधिक समितिको सुझाव अनुसार मतपत्र’

766
views

मतपत्र विवादसम्बन्धी सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई ध्यानमा राख्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको छुट्टाछुट्टै मतपत्र छपाईको व्यवस्थापकीय पक्षबारे अध्ययन गर्न एउटा प्राविधिक समिति गठन गरिने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताएका छन्।
प्रत्यक्ष वा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाई कार्य बाँकी नै रहेकोले आयोगले उक्त विषयलाई गम्भीरतापूर्वक विचार गर्ने नै छ भन्दै सर्वोच्च अदालतले गत बुधवार निर्णय सुनाएको हो।
तर समानुपातिकतर्फ मतपत्र छापिसकेको हुनाले अन्तरिम आदेश दिन नपर्ने उसले भनेको थियो।
आयोगले गठन गर्ने भनेको उक्त प्राविधिक समितिको सिफारिसका आधारमा मतपत्रको छपाई कार्य अघि बढाइने बताएपनि पनि छुट्टाछुट्टै मतपत्र छपाई कार्य अत्यन्त कठिन रहेको आयोगको भनाई छ।
सिफारिस
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको छुट्टाछुट्टै मतपत्र हुनुपर्ने मागसहितको रिट निवेदनमा सर्वोच्च अदालतको निर्णय आएलगत्तै आयोगले त्यसलाई सकारात्मक भन्दै त्यसले निर्वाचनका लागि सहयोग पुग्ने प्रतिक्रिया दिएको थियो।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाई कार्य बाँकी नै रहेको अवस्थामा आयोगलाई गम्भीरतापूर्वक विचार गर्न भनिएको हुँदा आयोगले त्यसबारे थप अध्ययन गर्ने निर्णय गरेको आयोगले जनाएको छ।
मतपत्र
मतपत्र छपाईको जटिलताबारे प्रमुख निर्वाचन आयुक्तले भने, “हामी एउटा प्राविधिक समिति बनाएर त्यसको सिफारिसलाई मध्यनजर गर्दै छिट्टै निर्णय गर्छौँ। हामी सर्वोच्च अदालतको निर्णयप्रति गम्भीरतापूर्वक छलफल गर्दैछौँ तर अहिले समय कम छ, छुट्टाछुट्टै मतपत्र छाप्ने विषय ज्यादै कठिन विषय हो।”
आगामी बुधवार दलहरुलाई चुनाव चिह्न दिइने र त्यसको भोलिपल्टबाटै प्रत्यक्षतर्फको मतपत्र छाप्ने तयारी आयोगको छ।
मध्यनजर
राजनीतिक दलहरुकै सहमतिमा आयोगले एउटै मतपत्र छाप्ने तयारी अगाडि बढाएको हो।
तर आयोगले गठन गर्ने उक्त समितिले छुट्टाछुट्टै मतपत्र छाप्नका लागि आवश्यक कागज, मसिनको व्यवस्थापन, मतपत्रको छपाई, त्यसको ढुवानी र मतदान केन्द्रको क्षमता लगायत विषयलाई मध्यनजर गर्दै निर्णय लिने बताइएको छ।
हालसम्मको मतपत्रको छपाईको प्रगतिबारे आयोगका प्रवक्ता नवराज ढकालले भने, “समानुपातिक मतपत्रको छपाईको काम हाम्रो योजना अनुसार कार्तिक ८ गते सकिन्छ र ९ गतेबाट प्रत्यक्षतर्फको छपाइको काम शुरु गर्छौँ। आयोगको कार्यतालिका अनुसार निर्वाचनको मितिभन्दा १० दिनअगावै प्रत्यक्षतर्फको मतपत्रको छपाई पनि सकिन्छ।”
कतिपय प्रमुख राजनीतिक दलहरुबाट निर्वाचनबारे विभिन्न खाले शंका भइरहेपनि आयोगले आफ्नो कार्यतालिका अनुसार नै चुनावी प्रक्रिया अघि बढाइरहेको बताएको छ।
समानुपातिकतर्फ १ करोड ७४ लाख मतपत्र छाप्नुपर्नेमा हालसम्म एक करोडभन्दा बढी मतपत्र छपाइ भइसकेको छ। विविसी