नुवाकोटको चुनाबी राजनीति 

1120
views

  -बद्रिनरसिंह के.सी.

रोचक पृष्टभुमी:
संविधानसभाको पछिल्लो निर्वाचन (२०७०) मा नेपाली काँग्रेसले सम्पूर्ण सिट जितेका १३ वटा जिल्लामा नुवाकोट लगायत संखुवासभा, सोलुखुम्बु, ललितपुर, मुस्ताङ्, मनाङ्, बाग्लुङ्, दाङ्, सुर्खेत, जुम्ला, हुम्ला, डडेलधूरा र कञ्चनपुर थिए । २०१५ सालपछि २०४८ सालको पहिलो आमनिर्वाचनमा प्रतिनिधिसभाका लगि बाग्मती अञ्चलका २५ सिटमा नेपाली काँग्रेसले जम्मा ४ सिट जितेको थियो— काठमाडौँ–२ मा दमननाथ ढुङ्गाना, भक्तपुर–२ मा स्व. जगन्नाथ आचार्य, नुवाकोट–३ मा अर्जुननरसिंह के.सी. र धादिङ्मा स्व. दामन पाख्रिनले । तर २०५१ को मध्यावधि निर्वाचनमा त सिङ्गो बाग्मती अञ्चलमा काँग्रेसलाई २ सिट दिलाएर शून्य स्थितिबाट जोगाइदिए नुवाकोटका जनताले, २ नं. क्षेत्रबाट डा. रामशरण महत र ३ नं. क्षेत्रबाट अर्जुननरसिंह के.सी.लाई जिताएर । बागमती अञ्चलका बाँकी सबै जिल्लाहरूमा काँग्रेस पराजीत भएको थियो । सिङ्गो अञ्चलमा काँग्रेसको नाक जोगाइदिएको नुवाकोटका जनताले नै हो भन्ने कुरा यति चाँडै भुल्नु कृतघ्नता हुनजान्छ । २०५१ को मध्यावधि निर्वाचन जितेपछि नेपाली काँग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा भन्नुभएको थियो, “मेरो जीत जनताको मतदानका अतिरिक्त अर्जुनजीको राजनीतिक अनुभवबाट मात्र सम्भव भएको हो ।”
उत्तरी सिमावर्ती रसुवागढीसम्म आइपुग्ने चिनिया रेल नुवकोटको बाटोबाट काठमाडौँ हुँदै पोखरा र भविष्यमा लुम्बिनीसम्म पुग्ने भएको छ । केरुङ् नाकासम्म जोडिने राजमार्ग हाल फराकिलो बनाउने काम भइरहेको छ । साविकको तातोपानीबाट भइरहेको नेपाल चीन ब्यापार अब यही रुटबाट हुने भएको छ । मध्यपहाडी लोकमार्ग नुवाकोटको बीचबाट हुँदै सामरीबाट पश्चिमतिर लाग्ने छ । यसप्रकार नुवाकोट उज्वल भविष्य बोकेको गौरवमय जिल्ला हो । यो नेपाल एकीकरणले पहिलो पाइलो हालेको र पृथ्वीनारायण शाह बाचुञ्जेल नेपालको राजधानी रहेको गौरव, हाम्रो जीवन समृद्ध र गरिमामय बनाउने कारक तत्व हुन् । साथसाथै देशको महत्वपूर्ण भूक्षेत्रमा परेको यस जिल्लाका जनता र समाजले कस्तो राष्ट्रिय संकल्प र विचारधारा अँगाल्ने भन्ने सवालमा यो लेख केन्द्रित छ ।

वर्तमानको रोचक पक्ष:
जसरी पूर्वको खोटाङ् र पश्चिमका स्याङ्जा जिल्लालाई धेरै उच्च ब्युरोक्रेट्हरू तयार भएका जिल्लामा गनिन्छ, त्यसैगरी नुवाकोट, काठमाडौँ, मोरङ् र झापा जिल्लाहरूलाई “नेताहरूको जिल्ला” भनी गणना गरिन्छ । नुवाकोट जिल्लाले देशलाई अर्थ, परराष्ट्र, शिक्षा, स्वास्थ्य, शहरी विकास, ऊर्जा, कृषिजस्ता महत्वपूर्ण मन्त्रालय सम्हाल्ने नेताहरू दियो । माथि नै भनियो, बागमती अञ्चलमा काँग्रेसको चुनाबी विजय शून्यप्रायः हुनलाग्दा पनि नुवाकोटले नै इज्जत राख्ने काम ग¥यो । जनताको यो निर्णयलाई लोकतान्त्रिक गठबन्धनका नेताहरूले कृतज्ञतापूर्वक धन्यवाद दिनुपर्छ ।
आज फेरि संघीय संसदको प्रतिनिधिसभाका साथै प्रदेशसभाको निर्वाचन संघारमै आइसकेको छ । यो निर्वाचनले राष्ट्रिय सरकार र प्रदेश सरकारलाई एकसाथ जन्म दिनेछ । जनता कस्तो सरकार चाहन्छन्, त्यही अनुरुपको सरकार बन्नेवाला छ । स्पष्टै छ एकातिर कार्यकारी राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन गर्ने, त्यसका लागि संविधान संशोधन गर्ने ध्येयको चुनाबी अभियान छ । नेपाल जस्ता अल्पविकसित मुलुकको हकमा प्रत्यक्ष निर्वाचित हुने कार्यकारी राष्ट्रपतिको व्यवस्था भनेको प्रकारान्तरले “श्रीपेचविहिन तर हुकुम चलाउने राजा”को निर्वाचन गर्ने हो । श्रीपेच नलगाए पनि हुकुम चलाउने राजा नै निर्वाचित गर्नु थियो भने राजतन्त्र नै थियो, गणतन्त्र किन चाहिएको हो ? भन्ने प्रश्न स्वतः आउँछ । अर्कातिर “यो युग प्रजातन्त्रको जमाना हो । आज विश्वभरि नै प्रजातन्त्रको लहर छ । कुनै पनि स्वरुपको वा एकदलीय अधिनायकवाद आजको युगलाई मान्य हुनेछैन” भन्ने प्रजातान्त्रिक चेतनाले बनाएको लोकतान्त्रिक पक्ष छ । यी दुई पक्षका बीचको निर्वाचन नै आजको चुनाबी राजनीतिको विशेषता वा यथार्थ भएको छ । त्यसैले मतदाताहरूमा साह«ै ठूलो सुझबुझ र जिम्मेवारीको घडी आएको छ ।

लोकतान्त्रिक पक्षमा निर्णायक चुनाबी लहर :
गठबन्धनको चुनाबी राजनीतिमा पार्टीहरूका नाम ओझेलमा परेका छन्, “लोकतान्त्रिक गठबन्धन” र “बाम गठबन्धन” का नामबाट चुनाबी प्रतिष्पर्धा हुनलागेको छ । अन्यत्रको कुरा छोडौँ, नुवाकोटको सन्दर्भमा लोकतान्त्रिक गठबन्धन अत्यन्त सुझबुझ र ऐक्यबद्धताका साथ जनतामा आएको छ । यसमा अनुकूल वातावरण निर्माणका लागि राष्ट्रिय राजनीतिमै निकै प्रभावशाली मानिएका नेपाली काँग्रेसका नेताहरू अर्जुननरसिंह के.सी. र डा. रामशरण महतको सुझबुझ र परिपक्वताले स्थितिलाई सिङ्गो जिल्लालाई नै लोकतान्त्रिक पक्षमा डोहो¥याइरहेको छ ।
ने. वि. संघको प्रशिक्षण–संस्कार (स्कूलिङ्) बाट दीक्षित निवर्तमान सांसद तथा काँग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले अत्यन्त सुझबुझका साथ समानुपातिक निर्वाचनमा बस्न राजीखुशी जनाएपछि नुवाकोटमा लोकतान्त्रिक गठबन्धन झन सशक्त बनेको छ । तामाङ् जनजाति समुदायको पहिचान बोक्नुभएका बहादुरसिंहले काँग्रेसको विजय कायम राख्नसक्दा मात्र हामी सबैको जीत र शक्ति कायम भएको मानिने भन्ने अवधारण राख्नुभएको बुझिन्छ । नेपाली काँग्रेसका अर्का नेता डा. प्रकाशशरण महतले काठमाडौँ क्षेत्र नं. ५ बाट उम्मेद्वारी दिन तत्पर भएर पनि नुवाकोटमा लोकतान्त्रिक गठबन्धनलाई निर्वाध बाटो तयार गरिदिनु भएको छ ।
रा.प्र.पा. राष्ट्रवादीकी नेतृ, निवर्तमान सांसद राज्यलक्ष्मी श्रेष्ठ (पाण्डे) ले काँग्रेसका नेता अर्जुननरसिंह के.सी.को समर्थनमा आपूmले दर्ता गरेको प्रतिनिधिसभा सदस्यको उम्मेद्वारी फिर्ता लिनुका साथै नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । विदुर नगरपालिकामा उपमेयरको उम्मेद्वार पनि भइसकेकी राज्यलक्ष्मीको जनस्तरमा राम्रो प्रभाव छ । काँग्रेसका लागि यो गहकिलो उपलब्धी हो । काँग्रेसले राज्यलक्ष्मीको योगदानलाई निर्वाचनभरि मात्र सम्झिने होइन, उहाँको सक्रियता र प्रभावकारिताबाट पार्टी लाभान्वित हुन सक्नुपर्छ । प्रतिनिधिसभाका लागि राप्रपा (प्रजातान्त्रिक) को तर्फबाट क्षेत्र नं. १ मा उम्मेद्वार भएका नरेन्द्रप्रसाद फुयाँलका साथै प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं. १ को ‘क’ र ‘ख’ प्रदेश–क्षेत्रमा उम्मेद्वारी दिएका दिपक राई र दामोदर थापा र क्षेत्र नं. २ को ‘क’ र ‘ख’ प्रदेश–क्षेत्रमा उम्मेद्वार भएका क्रमशः शिवप्रसाद अधिकारी र हरिप्रसाद रिजालले पनि आफ्नो उम्मेद्वारी काँग्रेसको समर्थनमा फिर्ता लिएर काँग्रेसको जीत सुनिश्चित बनाउन गहकिलो योगदान पु¥याउनु भएको छ । दिपक राई अत्यन्त भद्र एवं पुराना राजनीतिज्ञ स्व. नरबहादुर राईका छोरा हुनुहुन्छ ।
राप्रपाका जिल्ला अध्यक्ष मेरा मित्र विष्णुप्रसाद सापकोटा शालिन र नम्र मिजासका राजनीतिकर्मी हुनुहुन्छ । राप्रपा नेपालको स्थापनाकालदेखि नै नुवाकोट जिल्ला अध्यक्ष रहनुभएका उहाँले राप्रपालाई काँग्रेसको समर्थनमा जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । अनुभवी र जनस्तरमा राम्रो प्रभाव भएका राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य श्याम के.सी. र जिल्लाका प्रतिष्ठित तथा पुराना राजनीतिज्ञ स्व. जीतसिंह खड्काका पत्नी सीता खड्काले पनि काँग्रेसको समर्थनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ ।
प्रदेशसभा सदस्यको निर्वाचनमा क्षेत्र नं. १ बाट ‘क’ र ‘ख’ प्रदेश–क्षेत्रमा क्रमशः महेन्द्र थिङ् र रमेश महत र क्षेत्र नं. २ बाट नुवाकोट काँग्रेसका सभापति तथा निवर्तमान सांसद जगदीश्वरनरसिंह के.सी. र जगतबहादुर तामाङ्को उम्मेद्वारीले प्रदेशसभामा पनि काँग्रेसको शानदार विजयलाई सुनिश्चित गर्दै लगेको छ । मिलनसार र भद्र स्वभावका जगतबहादुर काँग्रेसको क्षेत्रीय सभापति पनि हुनुहुन्छ । यी सबै उम्मेद्वारहरू जिल्लाको राजनीति एवं जनस्तरमा सुपरिचित एवं अनुभवी छन् । त्यसैले जनताको आवश्यकता र कठिनाईलाई सबै उम्मेद्वारले राम्रोसँग बुझेका छन् ।

पहिचानको कदर र सामथ्र्यको उच्चतम उपभोग
लोकतान्त्रिक गठबन्धनले नुवाकोटको चुनाबी राजनीतिका सिलसिलामा समावेशी संरचनालाई प्राथमिकता दिँदै पहिचानको न्यायोचित कदर गरेको छ भने जिल्लाको सामथ्र्यलाई उचित ध्यान दिएको छ । नुवाकोट जिल्ला तामाङ्, राई, नेवार, क्षेत्री, ब्राम्हण, मुसलमान, गुरुङ्, मगर, दलित आदि विविध जातजातीको बसोबास भएको ऐतिहासिक तथा महत्वपूर्ण भेक हो । अनेकौँ कृषि उत्पादनदेखि ब्यापार तथा पर्यटनका दृष्टिले पनि यस जिल्लाको महत्व दिन दुगुना रात चौगुनाका दरले बढिरहेको छ । यस निर्वाचनद्वारा सबै जातजाति र धर्मावलम्बीहरूको शान्तिपूर्ण सहअस्तित्व तथा भाईचाराको कदर गर्ने र विकासका सबै ढोका खोल्ने नेतृत्वले काम गर्ने अवसर पाउनु पर्छ । त्यसका लागि आफ्नो मतको उच्चतम सदुपयोग हुनुपर्ने र त्यसका लागि लोकतान्त्रिक गठबन्धन नै तुलनात्मक रुपमा उपयुक्त हुने देखिन्छ । वाम गठबन्धन चुनाबभरिको लागि पानीको फोकाजस्तो क्षणिक स्वार्थको उपज हो । यसको भुलभुलैया र भ्रमबाट मुक्त हुनको लागि यो नै राम्रो उपयाय हो भन्ने प्रष्ट भइसकेको छ । नत्र वाम गठबन्धनको मिथ्या जालबाट देश र जनताले गम्भीर धोका पाउने खतरा रहन्छ ।साभार: नुवाकोट पुकारबाट