बागदरबार भत्काएर आधुनिक भवन बनाएरै छाड्ने मेयर विद्यासुन्दर शाक्यको अडान

1535
views

काठमाडौं १४ कार्तिक २०७४ ।
काठमाडौंको सुन्धारामा रहेको बागदरबार भत्काइने भएको छ । यसअघि पुरातत्व विभागले मर्मत सम्भार गरेर चलाउन भनेको भए पनि महानगरपालिको त्यसलाई भत्काएर नयाँ बनाउन डिजाइन समेत सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ९० सालभन्दा पहिले बनेका संरचना मात्रै पुरातात्विक भएको बताउँदै त्यसपछि बनेको हरिदरबार भएको बताए । “हाल महानगर बस्दै आएको भवन बागदरबार होइन,” शाक्यले भने, “बागदरबार सुन्धाराको एक निश्चित स्थानको नाम मात्र हो, हाल महानगर कार्यालय बस्दै आएको भवन हरिदरबार हो ।”
नेपाल सरकारले सुरक्षित गरेको शताब्दी पुराना पुरातात्विक संरचनाको अभिलेखमासमेत बागदरबार र हरिदरबारको फरक छुट्याइसकेको शाक्यको दाबी छ ।

‘बागदरबार पुरातत्वको क्षेत्राधिकार बाहिर’

शाक्यले जुद्धसमशेरका छोरा हरिशमशेरले बनाएको महानगरपालिकाको भवनमा वि.सं. १९९०, १९९३ लेखिएका इँटाहरु भेटिएकाले यो भवन पुरातात्विक नभएको बताए ।
“हरिदरबारमा हामीले उक्त मिति अङ्कीत इँटा फेला पारेका छौं,” शाक्यले भने, “त्यसैले यस भवन पुरातत्व विभागको क्षेत्राधिकारबाहिर छ ।” पुरातत्व विभागको पुरातत्व संरक्षण ऐनअनुसार ९० सालअगाडि बनेका संरचनालाई मात्र पुरातात्विक मान्ने कानुनी व्यवस्था रहेको छ । “९० सालअघिका संरचना मात्र पुरातात्विक हुन्,” पुरातत्व विभागका सिनियर डिभिजन इञ्जिनियर सम्पत घिमिरेले भने, “तर, यसो भन्दैमा नेपाली मौलिक इतिहास बोकेका भवन भत्काइनु कानुनविपरित छ ।”

पुरातत्व विभागले महानगरपालिकालाई उक्त भवन रेट्रोफिटिङ गरेर चलाउन मौखिक साथै लिखित निर्देशन दिँदै आएको छ । “विभागले हामीलाई हरिदरबारका बारेमा केही भनेको छैन,” शाक्यले भने, “विभागसँग हामी बारम्बर मिटिङमा छौं, दरबार भत्काउनेबारे विभागले कुनै प्रश्न राखेको छैन ।”
यता विभागका महानिर्देशक भेषनारायण दाहाल उक्त भवन सवलिकरण गरेर चलाउन महानगरको ध्यानाकर्षण गराइरहेको बताउँछन् ।

पत्रकारमाथि खनिए शाक्य

बागदरबारको डिजाइनका विषयमा जानकारी गराउन मेयर शाक्यले मङ्गलबार राखेको पत्रकार सम्मेलनमा पत्रकारहरुले बागदरबारको इतिहास नै नबुझी हचुवाका भरमा समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन् ।

विभागका सिडिई घिमिरे भन्छन्, “इतिहासदेखि चल्दै आएको तथ्यमाथि शाक्यजीले जथाभावी बोल्नु हुँदैन, उक्त भवन बागदरबार नै हो ।”

यस्तो बनेको छ डिजाइन

काठमाडौं महानगरपालिकाले अब बन्ने भनेको आधुनिक भवनको डिजाइन सार्वजनिक गरेको छ । डिजाइनअनुसार अगाडिको मोहडामा बागदरबारको मौलिकता झल्किने, पछाडिको भागमा लिच्छिविकालीन र मल्लकालीन मौलिकता झल्किने गरी ७ तले भवन बन्नेछ । उत्तर र पूर्वपट्टि अत्याधुनिक सुविधासम्पन्न १५ तले भवन निर्माण गरिनेछ । “विदेशी पाहुनाहरुले यही टावरबाट काठमाडौंका चारै दिशाको दृश्यावलोकन गर्नसक्नेछन्,” मेयर शाक्यले बताए । भवनभित्र चारवटा मल्लकालीनसहित काठमाडौंमा लोपोन्मुख अवस्थामा रहेका १० वटा पुरातात्विक चोकहरु राखिनेछन् ।

प्रस्तावित नयाँ भवनमा आकाशेपानी सङ्कलन तथा फरक क्षमतामैत्री संरचनामा जोड दिइने महानगरको दाबी रहे पनि भवन निर्माणसम्पन्न हुने मिति महानगरले तोकेको छैन । भवन निर्माणाधीन अवस्थामा साविकका कर्मचारीलाई बबरमहलस्थित जिल्ला समन्वय समिति कार्यालयमा स्थानान्तरण गरिने शाक्यले बताए ।

भूमिगत र कार्यलय परिसरको पार्किङ स्थलमा गरी १ सय जिप र ४ सय मोटरसाइकल पार्किङको सुविधा रहने बताइएको यस भवन निर्माणको कुल अनुमानित लागत १ सय ५० करोड रुपैयाँ रहेको छ ।(१२खरीबाट)