आफ्नो घर खाली राखेर भाडामा राष्ट्रपति किन ?

619
views

काठमाडौं, २८ कार्तिक । पूर्वराष्ट्रपति रामवरण यादवले आफ्नो घर खाली राखेर सरकारी सुविधाको भाडामा बसेको समाचारले अहिले बजार विशेष प्राथमिकता पाएको छ । त्यसमा अझै पूर्व राष्ट्रपतिलाई घर भाडामा दिएका घरबेटीले घरभाडा नपाएको भनेर एकसाता अगाडि पत्रिकामै निकालेको सूचनाले त झन नेपाली समाजलाई दुईतिर विभाजन गरेको छ ।


एक पक्षले राष्ट्रपतिले ललितपुरमा रहेको आफ्नो घर खाली राखेर अर्काकोमा भाडामा बसेको किन होला भनेर प्रश्न उठाएका छन् भने एकपक्षले पूर्वराष्ट्रपतिलाई सरकारले अपमान गरेको भन्दै सामाजिक संजाल लगायतमा आफ्नो विचार व्यक्त गरेका छन् ।
तर, आजको नयाँपत्रिकाले भने पूर्वराष्ट्रपतिलाई आवासको झमेला, राज्यको चरम उपेक्षाबाट आहत राष्ट्रपति डा. यादव पाँचसय मिटर परको आफ्नो निजी बंगलामा सर्न सकेका छैनन् भन्ने विस्तृत रिर्पोट ल्याएको छ ।
आफ्नो घर
पूर्वराष्ट्रपति डा. रामवरण यादवले १० वर्षअघि ललितपुरको एकान्तकुनानजिकै बागडोलमा ४० लाख रुपैयाँमा घर किनेका हुन् । चार आना जग्गामा बनेको साढे दुईतले घरको मूल्य हाल करिब दुई करोड पर्ने स्थानीय बताउँछन् । घर सुनसान छ । हेर्नलाई सरकारले नेपाल प्रहरीका जवानहरू खटाएको छ । तर, हेरचाह गर्ने प्रहरीलाई पनि घरभित्र प्रवेश निषेध छ ।
जवानहरुलाई राख्न सरकारले छिमेकीको घरमा मासिक ६ हजार रुपैयाँ तिरेर कोठा भाडामा लिएको छ । सोही कोठाबाट प्रहरीका हवल्दार र जवानले पूर्वराष्ट्रपतिको घरमा नजर राख्छन् । पूर्वराष्ट्रपतिकी छोरी अनिता कहिलेकाहीँ सो घरमा पुग्छिन्, तर बसाइ भने छेउकै सरकारी आवासमै छ ।
भाडाको घर
पूर्वराष्ट्रपति डा. यादव १२ कात्तिक ०७२ देखि ललितपुर महानगरपालिका–१० बागडोलमा सरकारले उपलब्ध गराएको भाडाको घरमा बस्दै आएका छन् । उनका लागि सरकारले त्यही टोलमा मासिक ५० हजार तिर्ने गरी एउटा घर खोजेको थियो । तर, डा. यादवले आपत्ति जनाएपछि मासिक एक लाख ३० हजार तिर्ने गरी अहिलेको घर व्यवस्था गरिएको हो । घरभाडा कसले तिर्ने भन्ने विषयमा घरबेटी र सरकारबीच भएको विवादको चेपुवामा पूर्वराष्ट्रपति यादव पर्दै आएका छन् । तीन महिनादेखि भाडा नबुझाएको र बत्ती र पानीको समेत महसुल नतिरेको भन्दै घरधनी रविभक्त विष्टले घर खाली गर्न सार्वजनिक सूचना जारी गरेका छन् । तर, यता पूर्वपदाधिकारीहरूलाई कस्तो सुविधा दिने भन्ने कानुन नै छैन । आजको नयाँपत्रिका दैनिकबाट