निर्वाचनका लागि ७७ जिल्लामा ६४ हजार सैनिक परिचालित

657
views

झापा, ९ मंसिर । निर्वाचन आयोगको समन्वयमा नेपाली सेनाले ७७ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक गुल्म बराबर सैनिक परिचालन गरेको छ । त्यसबाहेक केन्द्रमा विशेष बाहिनी अन्तर्गतका गण, सम्बन्धित प्रदेशमा रहेको पृतना र त्यसअन्तर्गतका बाहिनीमा हेलिकोप्टर र मद्दती फौज पनि सतर्क अवस्थामा राखिएका छन् । सेनाले जम्मा ६४ हजार २० जनाको फौज खटाएको छ । यो कुल सैनिक संख्या ९६ हजार पाँच सयको करिब ६६ प्रतिशत हो ।


‘हरेक निर्वाचन क्षेत्रमा कम्तीमा एउटा गुल्म र सुरक्षा संवेदनशीलताका हिसाबले थप जनशक्ति तैनाथ गरिसकेका छौँ, अन्य सुरक्षा निकायसँगको समन्वयमा जिम्मेवारी सुरु भइसकेको छ,’ सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले भने, ‘सुरक्षा संवेदनशीलताका आधारमा थप फौज पनि पठाएका छौँ, आवश्यकताका आधारमा परिचालन गर्ने गरी मद्दती फौज पनि तयारी हालतमा राखेका छौँ ।’
हरेक पृतनामा हेलिकोप्टर र थप फौज
हरेक पृतनामा कम्तीमा एउटा हेलिकोप्टर जुनसुकै वेला परिचालन हुने गरी तयारी हालतमा राखिएको सेनाले जनाएको छ । सेनाले जिल्लास्थित गण, बाहिनी, पृतना र हेडक्वार्टरअन्तर्गत विशेष बाहिनीबाट खटिने गरी चार तहमा मद्दती फौज पनि तयारी हालतमा राखेको छ । आजको नयाँपत्रिका दैनिकबाट