बाँकेमा ११३ जना एचआइ संक्रमितको मृत्यु

788
views

बाँके, ९ मंसिर । एड्सका कारण बाँकेका १ सय १३ जना एचआइभी संक्रमितको मृत्यु भएको छ । आर्थिक वर्ष २०७३ र ०७४ असार मसान्तसम्म बाँकेमा ९६२ जना एचआइभी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा तेस्रो लिङ्गीमा समेत एचआइभी संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका एचआइभी÷एड्स फोकल पर्सन रामबहादुर चन्दका अनुसार १३ जना तेस्रो लिङ्गी, ५३५ पुरुष र ४१४ जना महिलालाई एचआइभी संक्रमण भएको छ । उनले बाँकेमा २६ जना बालबालिकामा समेत एचआइभी संक्रमण भएको जानकारी दिए । ‘असुरक्षित यौन सम्पर्क र सूई, सिरिन्जबाट लागू औषध प्रयोगकर्ता एचआइभीको उच्च जोखिममा छन्,’ चन्दले भने, ‘कामका लागि विदेश गएकाबाट पनि एचआइभी सरेको पाइएको छ ।’
उनले ३९४ जना एचआइभी संक्रमितले मात्र एआरटी सेवा लिइरहेको बताए । समाजबाट अपहेलित हुने डरका कारण खुल्न नसकेकाहरु एआरटी सेवाबाट बन्चित भएको उनले बताए । एक पटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनु पर्ने भएकोले केही संक्रमितले सेवा लिन नमानेको चन्दको भनाई छ । ‘एक पटक सेवा लिएपछि जीवनभर लिइरहनु पर्छ, सेवा लिइरहनु पर्ने भएकोले केहीले झन्झट मान्छन्,’ उनले भने ।
उनले एआरटी र पिएमटिसिटी सेवा लिन छुटेका एचआइभी संक्रमितलाई समेट्न सरकारले विशेष नीति अवलम्वन गरेको बताउँदै सरकारले ९०–९०–९० नीतिलाई अगाडी बढाएको जानकारी दिए । सन् २०२० सम्म उपचारबाट बन्चित भएका ९० प्रतिशतलाई सेवा प्रदान गर्ने, ९० प्रतिशत सर्वसाधारणको एचआइभी जाँच गर्ने र ९० प्रतिशतलाई एचआइभी संक्रमणको बारेमा जानकारी दिने सरकारले नीति अघि सारेको उनले जानकारी दिए । आजको नयाँपत्रिका दैनिकबाट