राष्ट्रपति जुमाको राजीनामा माग

586
views

एजेन्सी प्रिटोरिया, २ फागुन । दक्षिण अफ्रिकाको सत्तारुढ अफ्रिकन नेसनल कंग्रेस (एएनसी) पार्टीले राष्ट्रपति ज्याकोब जुमाको राजीनामा माग गरेको छ । जुमाले राजीनामा दिन अस्वीकार गरेपछि पार्टीले औपचारिक रूपमा सो माग गरेको हो ।

यसअघि जुमाको भविष्यबारे छलफल गर्न मंगलबार बिहान एएनसीका एक सयभन्दा बढी वरिष्ठ नेताहरूले प्रिटोरियाको एउटा होटेलमा घन्टौँ लामो बैठक गरेका थिए । बैठकबारे नेताहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन् । तर, स्थानीय सञ्चारमाध्यमले उक्त भेलाले जुमालाई राजीनामा दिन औपचारिक रूपमा आग्रह गरेको जनाएका छन् ।

राजीनामा नदिए अविश्वास प्रस्ताव
७५ वर्षीय जुमाले पार्टीको आग्रहबमोजिम राजीनामा नदिए उनीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । जुमा सन् २००९ देखि दक्षिण अफ्रिकाको नेतृत्वमा छन् । राष्ट्रपति जुमाका पछाडि अनियमितता र भ्रष्टाचारका विभिन्न काण्ड जोडिएका छन् । तीन महिनाअघि एएनसीको नेतामा काइरी रामाफोसा निर्वा्चित भएपछि उनलाई राजीनामा दिन दबाब बढेको थियो । जुमाले राजीनामा दिन अस्वीकार गर्दै आएका छन् ।

पार्टीको औपचारिक निर्णयलाई जुमाले कसरी लिन्छन् भन्ने विषयमा केही खुलाइएको छैन । यसअघि एएनसीको राष्ट्रिय कार्यकारी बैठक भइरहँदा रामाफोसा सीधै जुमाको निवासमा पुगेर पार्टीको आग्रहबमोजिम राजीनामा दिन अस्वीकार गरे पार्टीले निष्कासन गर्ने चेतावनी दिएका थिए । जुमालाई चेतावनी दिएपछि रामाफोस सीधै एएनसीको बैठकमा फर्किएका थिए ।

के होला अब ?
जुमाले पार्टीले दिएको औपचारिक अनुरोधलाई स्वीकार गर्ने सम्भावना न्यून रहेको जनाइएको छ । कानुनी रूपमा जुमा राजीनामा दिन बाध्य हुनेछैनन् । पार्टीको अविश्वासका बाबजुद उनी प्राविधिक रूपमा दक्षिण अफ्रिकाको राष्ट्रपति हुनेछन् । नैतिकताका आधारमा राजीनामा नदिए केही दिनभित्रै उनीमाथि संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुने निश्चित छ । उनीविरुद्ध यही फेब्रुअरी २२ मा अविश्वासको प्रस्ताव दर्ता हुँदै छ । संसद्मा दर्ता हुने अविश्वास प्रस्ताव जुमा र उनको पार्टीका लागि लज्जाको विषय हो । दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले जुमाको अपरिहार्य पतनलाई ‘जेक्जिट’ बताएका छन् ।

शक्ति संघर्ष
बैठकको बीचमै एएनसी नेता काइरी रामापोसा नजिकै रहेको जुमाको निवासमा गएका थिए । विभाजनको संघारमा पुगेको पार्टीलाई फुटबाट जोगाउन रामापोसाले सहमतिको प्रयास गरिरहेका छन् । जुमाले राजीनामा दिन सहमति जनाएको तर त्यसका लागि तीन महिना आफूलाई पदमा बहाल राख्नुपर्ने सर्त राखेको जनाइएको छ । जुमाको सर्तले पार्टी्भित्र विवाद र विभाजन बढ्ने कतिपयले टिप्पणी गरेका छन् । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति थाबो एमबेकीले सन् २००८ मा राजीनामा दिएका थिए । उनको पनि तत्कालीन उपराष्ट्रपति जुमासँग शक्ति संघर्ष बढेको थियो । थाबोको राजीनामापछि जुमा राष्ट्रपति बनेका थिए ।

जुमाले के गल्ती गरे ?
जुमाको आठ वर्षीय शासनकालमा उनीमाथि शृंखलाबद्ध रूपमा भ्रष्टाचार आरोप लागेका छन्, तथापि उनले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् । सन् २०१६ मा दक्षिण अफ्रिकाको उच्च अदालतले जुमाले संविधान उल्लंघन गरेको फैसला सुनाएको थियो । उनको निजी घरमा खर्च गरिएको सरकारी रकम फिर्ता नगरेको अदालतले फैसलामा सुनाएको थियो ।

गत वर्ष सुप्रिम कोर्ट अफ अपिलले सन् १९९९ मा भएको सैन्य सम्झौतामा राष्ट्रपति जुमामाथि भ्रष्टाचार, ठगी, जबरजस्ती रकम असुलीलगायतका अभियोग सुनाएको थियो । हालसालै मात्र जुमाको भारतीय मूलका गुप्ता थरका एक धनाढ्यसँग साँठगाठ भएको र गुप्ताले उनको लोकप्रियता घटाएको जनाइएको थियो । जुमा र गुप्ता दुवैले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।