काठमाण्डौ । इजरायल–हमास युद्धविरामपछि बन्दी रिहाइ सुरु भएपनि कञ्चनपुरका विपिन जोशीको नाम पहिलो सूचीमा परेन । विपिनका दाइ किशोर जोशीले परिवार अझै आशावादी रहेको र अन्तिमसम्म आशा नछाड्ने बताएका छन । रिहाइ हुने बन्दीमा विपिनको नाम समावेश नभए पनि उनको परिवार भने आशावादी रहेको छ ।
‘आज छुट्ने नामावलीमा नाम छैन भनेर हामीलाई जानकारी आएको छ तर अन्तिम अवस्थासम्म पनि हामी भने पूर्ण आशावादी छौं,’ विपिनका दाई किशोर जोशीले भने, ‘आज २० जना रिहाइ भइरहेका छन्, सबै रिहाइ हुन बाँकी छ, त्यति निराश भइहाल्नुपर्ने ठाउँ छैन ।’
उनका अनुसार सोमबार बिहान इजरायलको युद्धबन्दी सम्बन्धी मामिला हेर्ने एक कर्मचारीले उनलाई फोन सम्पर्क गरेका थिए । उनले नै रिहाइ हुने बन्दीमा विपिनको नाम समावेश नभएको जानकारी दिएका थिए ।
‘सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा विपिन जीवित नरहेको खबर आइरहेको छ, यसले हामीलाई पीडा दिइरहेको छ,’ उनले भने, ‘मलाई पूर्ण विश्वास छ, भाइ ठीक छ ।’