बूढीगण्डकी मुआब्जाका लागि डेढ अर्ब रकम बैङ्क दाखिला

983
views

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि झण्डै डेढ अर्ब रकम बैङ्क दाखिला गरेको छ । चालू आर्थिक वर्षमा प्राप्त पाँच अर्ब रकमबाट फुजेलका ७०२ प्रभावितलाई मुआब्जा वितरण गर्ने गरी उक्त रकम बैङ्क दाखिला गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षमा गोरखाका लागि प्राप्त पाँच अर्बमध्ये पहिलो चरणमा फुजेलका प्रभावितको खातामा जानेगरी एक अर्ब ४७ करोड रुपियाँको चेक वाणिज्य बैङ्क पठाएको बस्नेतले बताउनुभयो ।

साविकको फुजेल गाविसका चार सय घरधुरीको भने अध्ययन कार्य सम्पन्न नभइसकेकाले उनीहरूले भने अहिले मुआब्जा नपाउने उहाँले बताउनुभयो । फुजेलकै पनि बाटोको सीमाङ्कनमा पर्ने, डुबानभित्र र बाहिर पर्ने जमिनका बारेमा नापीले थप अध्ययन गरिरहेको र त्यहाँबाट स्पष्ट भएर आएपछि उनीहरूले पनि रकम पाउने प्रजिअले बताउनुभयो ।

यसैगरी नाम्जुङ र बुङ्कोटको पनि आवश्यक तयारी भइरहेकोले नापी र मालपोतले काम सक्ने बित्तिकै प्रभावितलाई रकम दिने प्रशासनको तयारी छ । नाम्जुङमा झण्डै ८० प्रतिशत गुठीको जग्गा रहेकाले अहिलेको प्रावधान अनुसार मुआब्जा वितरण गर्न कठिन छ ।

ऊर्जा मन्त्रालयले गुठीको हक विषयमा निर्णय गरेर मोहीलाई शतप्रतिशत मुआब्जा दिने गुठीलाई क्षतिपूर्ति दिने तयारी गरेको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ । बुङ्कोटका प्रभावितका लागि पनि मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको बूढीगण्डकी आयोजना एकाइ कार्यालयका प्रमुख कृष्ण काजीले जानकारी दिनुभयो ।

गोरखा र धादिङका गरी साविकका २७ गाविसको मुआब्जा तोकिए पनि हालसम्म छ गाविसमा मात्र मुआब्जा रकम वितरण भएको छ । गोरखाको घ्याल्चोक, भुम्लीचोक, दर्बुङ र धादिङको सलाङ, मैदी र खरी पहिलो चरणमा मुआब्जा वितरण गरिएको हो । डुबान क्षेत्रकै आरुघाट बजार र खहेरको मुआब्जा भने हालसम्म निर्धारण भएको छैन ।

जिल्ला प्रशासन कार्यालय, गोरखाले डुबानक्षेत्रको जग्गालाई ११ भागमा वर्गीकरण गरी प्रतिरोपनी कम्तीमा पाँच लाख २५ हजार देखि बढीमा आठ लाख ३५ हजार रुपियाँ मुआब्जा दिने निर्णय गरेको छ । गोरखा र धादिङको बीच भागमा बन्ने बहुचर्चित १२ सय मेगावटको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण गर्दा तीन हजार ५६० घरधुरी विस्थापित हुने जनाइएको छ ।