सिद्धान्तमा टाट पल्टेका बाबुराम

1772
views

–हुकुमबहादुर सिंह

बाबुरामले हालसालै गोरखाको उनको आफ्नो चुनाव क्षेत्रमा गएर भनेका छन् । ‘‘कम्युनिस्टको लक्ष्य भनेको आसेपासे र कार्यकर्ता पोस्ने मात्र हो ।’’ वर्तमानमा ओली र प्रचण्डले कम्युनिस्टको खोलभित्रबाट यही काम गरिरहेका छन् जुन बाबुरामले भन्दै छन् । बाबुराम लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा लाग्दै आएका र नेपालमा सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने लक्ष्य र उद्देश्य राखेर थालिएको दश वर्षे जनयुद्धका एक जना चर्चित नेता पनि हुन्, जसमा हजारौं, लाखौंले त्याग, तपस्या र बलिदान दिएको लामो समय बितेको छैन ।

तर यति छिट्टै उनी जनयुद्धमात्रै नभई समग्र मार्क्सवादी–लेनिनवादी–माओवादी दर्शन, विचारआदि सबैको विरोधमा लागेका छन् र त्यो भनेको उनको हिजोका आफ्नै शब्दमा एउटा साम्राज्यवादी, विस्तारवादीको सेवा गर्ने प्रतिक्रियावादी विचार हो । जसरी १९५६ मा रुसमा ख्रुश्चेभले स्तालिनको विरोधको नाममा समग्र मार्क्सवाद–लेनिनवादका विरुद्ध गएर बर्न्स्टिनजस्ता मार्क्सवाद विरोधीको सिद्धान्त र विचारलाई रुसमा लागु गर्ने काम गर्यो, त्यसैगरी अहिले नेपालमा बाबुरामले ओली र प्रचण्ड (जो स्वयम् पतित भएका कम्युनिस्ट हुन्) उनीहरुलाई देखाउँदै समग्र मार्क्सवाद–लेनिनवादविरुद्ध विष बमन गरिरहेका छन् ।

उनलाई थाह छ कम्युनिस्टको लक्ष्य के हो ? तर त्यसलाई अहिले नबुझेझै गर्दै ओली र प्रचण्ड, जसले मार्क्सवाद–लेनिनवादको झण्डा बोकेर त्यसकै विरुद्ध लागीरहेका छन, को विरोधको नाममा आमजनतालाई भ्रम पार्ने गरी ‘कम्युनिस्टको लक्ष्य भनेको आसेपासे र कार्यकर्ता पोस्ने मात्र हो ।’ भनेर समग्र कम्युनिस्टहरु जो देशका गरीब, सुकुम्वासी, मजदुरआदिको वर्गीय मुक्तिका लागि त्याग, तपस्या र बलिदानीपूर्ण मार्गतर्फ अग्रसर छन्, ती सबै प्रचण्ड र ओलीजस्तै आसेपासे र कार्यकर्ता पोस्ने मात्र हुन भन्नु, यो बाबुरामको हद दर्जाको अवसरवादी र प्रतिक्रियावादी विचार हो । यसरी सही विचारलाई तोडमरोड गरी आम जनताको बीचमा पेश गर्दा यसले उनी आफैलाई पार्ने नकारात्मक असरबारे पनि उनले विचार गर्नु पर्ने हुन्छ ।

बाबुरामलाई थाह छ, ओली र प्रचण्ड उनका दीर्घकालीन मित्र शक्ति हुन, त्यसैले उनले तिनीहरुको विरोध उनीहरुका जराहरु खलबल्याउने गरेर नगरी अझ त्यसमा मलजल गर्ने काम गर्दछन् । त्यो भनेको सही तथा क्रान्तिकारी कम्युनिस्टहरु र उनीहरुका समर्थक जनतामा नकारात्मक असर पर्ने गरी ओली र प्रचण्डको सतही विरोध होस् भन्ने हो । आखिरमा ओली, प्रचण्ड र आफू तिनै जना नेपालबाट सर्वहारावर्गीय मुक्तिको कुरा गर्ने कम्युनिस्ट क्रान्तिकारीहरुको उन्नति र विकास नहोस् भन्ने नै हो ।

आखिरमा लेनिनको भनाइमा त यी तिनैजना नेपालका लागि काम गर्ने पुँजीवादी लेफ्टीनेन्ट साबित भइसकेका ‘कम्युनिस्ट’ नै हुन् । ओली, प्रचण्डले सरकारमा बसेर क्रान्तिकारी कम्युनिस्टहरुलाई अपराधी घोषित गर्ने कसरत गर्दै छन् र अदालतले निर्दोष साबित गरेकाहरुलाई अदालतबाटै फेरि पक्डने आदेश दिएर जेलमा राख्दै छन् भने बाबुराम भने सरकारको प्रतिपक्षमा रहेर ओली, प्रचण्डलाई देखाउँदै “कम्युनिस्टको लक्ष्य भनेको आसेपासे र कार्यकर्ता पोस्ने मात्र हो’ भन्दै छन् ।

के उनलाई थाह छैन् ? मार्क्सवादी–लेनीनवादी–माओवादी आन्दोलनको मूल लक्ष्य तथा उद्देश्य समाजमा विद्यमान सबै प्रकारका शोषण उत्पीडनको अन्त्य हो । तर उनी त्यसलाई बङ्गाउँदै कम्युनिस्ट आदर्श, दर्शनका विरुद्ध विष बमन गर्दै छन् । के सही हो भने केपी ओली, प्रचण्डजस्ताबाट जे काम भइरहेको छ, त्यो कम्युनिस्ट लक्ष्यअनुसार भएको छैन ।

त्यसैले मार्क्सवादी–लेनिनवादी–माओवादी दर्शन, सिद्धान्तबाट अलगथलग भएका नेताहरुबाट यस्ता काम हुनु भनेको दलाल पुँजीपतिका लेफ्टीनेन्टहरु तथा नोकरशाहहरुबाट हुने र गरिने काम हो, जसलाई बाबुरामले जानीजानी कम्युनिस्ट लक्ष्य भनेर व्याख्या गर्नु उनको सैद्धान्तिक टाट पल्ट्याइ सिवाय केही होइन् ।