माइतीघर मण्डला

2361
views

⌈कविता⌉
माइतीघर मण्डला
मुटु हो काठमाण्डुको
छेवैमा खडा छ सिंहदरबार
अर्थात् देशको भीमकाय सत्ता
बेलाबखत डसिरहन्छ
मण्डला थियटरको गिदी ।

माइतीघर मण्डला
जहाँ जुलुस बनेर उपस्थित हुन्छन्
हलो समाउने हातहरू
मेसिन समाउने पाखुराहरू
भविश्य कोर्न काठमाण्डु छिरेका
कलिला जोवनहरू
समानता खोज्न निस्किएका
आदिवासी पोसाकहरू
शदियौँदेखि सीमा रक्षार्थ तैनाथ
‘अनागरिक’ मधेशी तनहरू
स्वाधीनता बचाउन उठेका मुट्ठीहरू
र युद्धमा ज्यान अर्पेका शीरहरू
सबै सबैले
आफ्नो रगत र पसिना पोखेर
प्राण भरिरहेछन् यही मण्डलाबाट
आफ्नै वर्गवैरी सिंहदरबारको ।

कहिले उखु किसानहरू
कहिले ‘मुक्त’ हलिया र कमैयाहरू
कहिले ‘बेस्या’मा नाउँ दरिएका
‘अनागरिक’ आधा आकासको एक हिस्सा
यही थियटरमा उभिएर
भोक र प्यासले
बर्सौंदेखि थिलथिलिएको
कङ्काल शरीरको मुटु निचोरेर
अर्पण गर्छन् रगत सिंहदरबारलाई ।

सिंहदरबार बाँचेको छ
मण्डलामा पटक पटक भेला हुने
तिनै दविएका, दवाइएका
“छुत“ र “अछुत“हरुका
हेपिएका, चेपिएका
हजारौँ लाखौँ मुटुहरूले
प्रबाह गरिरहेको अक्सिजन पाएर,
मोटाएको छ सँधै सँधै
मण्डलामा घोप्टिएका रगत र पसिना
लपलपी चाटेर ।

मण्डला थियटरले जन्माएको हो घनश्याम
र, दर्जनौँ घनश्यामहरू
र त घनश्यामहरूमा पलाएको हो
समाजवादको व्याख्या गर्ने साहस
घण्टौँसम्म
सेमिनारहरूमा
क्लवहरूमा
केही थान बुज्रुकहरूका
गफाखडाहरूमा
विमोचित हुन्छन् पर्यटनबोडका शोफाहरूबाट
घनश्यामहरूका समाजवादी किताब ।

समाजवादको किताब बोकेर
जब छिर्छन् घनश्यामहरू सिंहदरबार
घोषणा गर्छन्
मण्डालामा तैनाथ
ठिही र तुसारोमा कठ्याङ्ग्रिंदै
रुमालले टाउको छोपेर झरिमा
मुटु निचोरेर रगत पोखिरहेका
सत्तरी बर्से जोबनहरूको जुलुसलाई(
“तिमीहरूको पसिनाको मूल्य
तिम्रै मालिकहरूलाई
सरखारबाट अनुदान अर्पेर
हामीले समाजवादको सुरुआत गरिसक्यौँ ।“
हिरामणी दुःखी