जितेन्द्र थापा
सुर्खेत १४, पुस । दैलेखमा रहेका ऐतिहासिक र पुरात्तात्विक महत्व बोकेका पाण्डवका देवलहरुको संरक्षण नहुँदा ओझेलमा परेका छन् ।
फोटो सौजन्य बिशाल सुनार
पुरात्तात्विक महत्व बोकेका देवलको संरक्षण नहुँदा अहिले जीर्ण अवस्थामा रहेका छन् ।सांस्कृतिक र धार्मिकरुपमा उक्त देवलहरुको महत्व भएपनि आधुनिकतासँगै युवाहरुमा त्यसको महत्व बुझाउन नसक्दा र स्थानीय तथा प्रदेश सरकारले चासो नदिँदा पाँच भाई पाण्डवका पञ्च देवलहरु जीर्ण अवस्थामा पुगेको स्थानीय बताउँछन् ।
‘सांस्कृतिक र धार्मिक रुपमा महत्व बोकेका पञ्चदेवलहरुको छुट्टै महत्व छ, तर यसको महत्व बारे युवाहरुलाई बुझाउन जरुरी छ,’ भैरवी गाउँपालिका वडा नम्बर ६ का सन्तोश कठायतले भने, ‘देवले संरक्षणमा नत स्थानीय सरकारले नै चासो दिन्छ नत प्रदेश सरकारले नै ।’
किंवदन्ती अनुसार परापुर्वकालमा पाण्डवहरु वनबासमा रहेका बेला एकै रातमा बनाएको पञ्चदेवलको संरक्षण र प्रचार – प्रसार नहुँदा समस्या भएकोले यसको संरक्षण र सम्वद्र्धन गर्न सके धार्मिक पर्यटनमा टेवा पुग्ने कठायतको भनाई छ ।
पुराना सम्पदाहरुकोे संरक्षण नेपाल सरकार अन्तरगतको पुरात्तत्व विभाग, स्थानीय सरकार, प्रदेश सरकारले पनि पञ्चदेवलहरुको संरक्षणमा आँट गर्न नसकेकोे पत्रकार विशाल सुनारले बताए ।
पुराना सम्पदा भएको ठाउँमा मेसिनहरु प्रयोग गर्न, नजिकबाट बाटो लैजान, पत्थर लगाउन, तोडफोड गर्न नमिल्ने नीतिलाई अबलम्बन गर्न नसक्दा कतिपय सम्पदाहरु नास हुने र पुरानो शैलीको स्वरुप हराउने सुनारको भनाई छ ।
जिल्लाभरी भएका पुरात्तात्विक सम्पदाहरु, देवलहरु, धर्मशाला, थानहरु निजी स्वामित्व रहेकोले सम्पदासहित आसपासका जग्गाहरुलाई सरकारले अधिग्रहण गर्न सके मात्र त्यी सम्पदाको संरक्षण हुने स्थानीयले बताउँदै आएका छन् ।
जीर्ण भएका सम्पदालाई त्यसको मौलिकता नमर्ने गरी पुरानै शैलीमा पुनः निर्माण गर्नुपर्ने स्थानीय सरकार र नागरिकले संरक्षणमा चासो देखाउनुपर्ने र पुरात्तत्व विभागले पनि संम्वेदनशिल भएर काम गर्नुपर्ने भएपनि सबै निकाय गैरजिम्मेवार बनेका छन् ।
दैलेखको ११ वटा स्थानीय तहहरुमध्ये चारवटा स्थानीय तहमा पुरात्तात्विक, सास्कृतिक र धार्मिक महत्तव बोकेका स्थलहरु रहेका छन् । नारायण नगरपालिका–७ को किमुँगाउँ, वडा नम्बर ४ को देवलकाँडा, वडा नम्बर २ को जाहरकोट, वडा नम्बर १ को कुइकानामा र महाबु गाउँपालिकाको वडा नम्बर ५ काँसिकाँधमा पाण्डवहरुले बनाएका देवलहरुको संरक्षण र प्रचार–प्रसार नहँुदा ओझेलमा परेका हुन् ।
त्यस्तै भैरवी गाउँपालिका –३ को कोइराल गाउँ, वडा नम्बर ७ को ब्याउले, दुल्लु नगरपालिका–३ को बडालम्जि, वडा नम्बर १२ को गौरी, वडा नम्बर ५ को पटाङ्गिनी, वडा नम्बर–१० को कालभैरवमा र जिल्लाभर पञ्चदेवल, सिङ्गल र दुईवटासम्म देवल गरी तीन सय २५ भन्दा बढी रहेका छन् ।
ब्याउलेको धर्मशालामा भैंसी गोठ
दैलेखको भैरवी गाउँपालिका– ७ र कालिकोटको सिमानामा पाण्डवहरुले कलात्मक शैलीमा बनाएको ब्याउले धर्मशाला अहिले भैंसीको गोठमा परिणत भएको छ ।
पुरात्तात्विक र थुप्रै पर्यटकीय सम्भावना बोेकेको उक्त धर्मशाला सम्बन्धी पुरात्तत्व विभागमा कुनै रेकर्ड नै नभएको स्थानीयको भनाई छ । पहिले जुम्ला कालिकोट पैदल यात्रा गर्ने ठाउँमा अवस्थित रहेको ब्याउलेको धर्मशालामा पैदल यात्री यात्रा गर्दा साँझ परेपछि बास बस्ने गर्थे ।
सामल कुटने ‘सामु’ (हाट बजार जाँदा लिएको खाद्यान्न कुट्ने फलामको डल्लो) नै चोरी भएको छ ।
ढुङ्गै ढुङ्गाले बनेको दुइकोठे ब्याउलेको धर्मशालामा भएको ओखलमा भैरवी गाउँपालिकाको गढेजीउलाबाट राक्षसहरुले धान चोरेर ओखलमा कुटेर भात पकाएर खान्थे भन्ने किंवदन्ती पनि छ ।
जिल्लाको पश्चिममा पर्ने ब्याउलेको धर्मशाला करिब दुइ हजार तीन सय मिटर अग्लो ठाउँमा रहेको रहेको छ ।
पाण्डवहरु भारतको उत्तराखण्ड हुँदै नेपालतर्फ आएको र एक बास बस्नलाई धर्मशाला निर्माण गरेको भन्ने किंवदन्ती रहेको छ ।
त्यस्तै दैलेखमा भएको सम्पदाहरु संरक्षण र संवद्र्धनमा प्रत्येक वर्ष विभाग लागि रहेको नेपाल सरकार संस्कृति, तथा नागरिक उड्ययन मन्त्रालय अन्तरगत पुरातत्व विभागका अधिकृत राम बहादुर कुवँर दावी गर्छन् ।