उमेरले बुढो भए पनि जाँगर बुढो भएको छैन

डोकोमैं व्यापार गर्न थालेको पाँच वर्ष भयो

1179
views

सुर्खेत । प्रत्येक दिनको बिहानीसँगै वीरेन्द्रनगर —१२ चनौटेकी धनसरा जैसीको व्यापारको यात्रा सुरु हुन्छ ।

बिहान ६ बजे उठेर डोकोमा फलफुल र तरकारी बेच्दै आएकी ६८ वर्षीय धनसरालाई धेरैले यस्तो बुढेस कालमा पनि डोके व्यापार किन गरेको भनी प्रश्न गर्छन् ? तर उनी पाँच वर्षदेखि नै डोके व्यापारमा रमाउँदै आएकी छिन् ।

पाच् वर्षदेखि वीरेन्द्रनगरका विभिन्न ठाउँमा डोकोमा पलफुल लिएर हिँड्दै आएकी धनसराको दैनिकी नै डोके व्यवसायमा बित्न थालेको छ ।
‘मैंले डोकोमैं व्यापार गर्न थालेको पाँच वर्ष भयो । उमेरले बुढो भए पनि मेरो जाँगर बुढो भएकने छैन,’ धनसराले भनिन्, ‘दिनभरी डोको भरीको सामग्री कसैले किन्छन् त कसैले किन्छन् तर पनि म हरेस खान्न ।’

धनसराले विभिन्न फलफुल र तरकारीको सिजनको बेला घण्टौं पैदल हिँडेर वीरेन्द्रनगरका बजारमा व्यापार गर्दै आएको बताउँदै आ¬फ्नो श्रीमानको मृत्युपश्तात जिवीका धान्नकै लागि यस्तो व्यवसाय गर्दै आएको जानकारी दिइन् ।

‘सिजन अनुसार डोके वयापार नगरी हुँदैन, छोरा बुहारी मलाई हेर्दैनन्,’ उनले भनिन्, ‘डोको नबोकी पेटमा चारो पस्दैन, तर पनि सोचे जस्तो आम्दानी हुँदैन ।’
दिनभरी डोको बोकेर दौडधुप गरेपनि सोचे जस्तो आम्दानी हुन नसकेको उनको गुनासो छ । डोकोरी हजार पन्ध्र सयको सामग्री लिएपनि दैनिक चार— पाँच सयको व्यापार मुस्किलले हुने गरेको जैसीले बताइन् ।

धनसराका चार छोरा बुहारी छन् । ती मध्ये दुई छोरा बुहारी र नाति आफुसँग भएपनि उनीहरुको बेवास्थाका कारण आज भोली डोको लिएर बजारभर घुम्नुपर्ने बाध्यता रहेको गुनासो उनले गरिन् ।

यस्तै वीरेन्द्रनगर —११ की ३५ वर्षीय चन्द्रकला थापा दैनिक ४०— ५० किलोे सुन्तला डोकोमा बोक्दै दैनिक वीरेन्द्रनगरका बजारमा चाहार्ने गर्छिन् ।
स्थायी घर दैलेखको भगवतिमाई गाउँपालिका —२ भएकी चन्द्रकलाले डोके व्यापार गर्न थालेको पाँच वर्ष नै भयो ।

आफ्नो दैनिक गुजरा चलाउनकै लागि डोके व्यापारमा लोगी थापाले वीरेन्द्रनगरमा भाडामा बसेर अपाङ्ग दुई छोरालाई पढाई लेखाई र पालन पोषण गर्दै आएककी छन् ।
‘घरमा कमाउने कोही छैन, श्रीमान पहिले नै बिती सक्नुभयो, दुई छोरा अपाङ्ग छन् उनीहरुको पालनपोषण र पढाई लेखाईको आधार नै यो व्यवसाय हो,’ चन्द्रकलाले भनिन् ।
वीरेन्द्रनगर—१२ की कालिका रावत पनि ६ वर्षदेखि डोकोमा व्यापार गर्दै आएकी छन् । धनसरा र चन्द्रकला जस्तै उनी पनि दैनिक गुजरा चलाउनकै लागि यस्तो व्यवसाय रोको बताउँछिन् ।

‘मान्छेहरु ठुला—ठुला फलफल पसलमा गएर विषदी हालेको किन्न तयार हुन्छन् तर हामीले गाउँबाट ल्याएका अर्गानिक फलफुल जबरजस्ती सय रुपैयाँ किलो लैजाउ भन्दा पनि लिँदैनन्,’ कालिकाले भनिन्, ‘डोकोमा व्यापार गर्न कति अप्ठारो छ भन्ने कुरा त हामीलाई मात्र थाहा छ, न घाम भन्न पाइन्छ न पानी ।’