– यज्ञ बहादुर थापा
कालीगण्डकी नदीको गर्भगृहमा पाइने सबै शिला शालग्राम शिला हुन् । विश्व समुदायमा पाइने शिलाहरु भन्दा विशेष विशेषता र क्षमता भएको प्रमुख शालग्राम शिला नै हो । अमेजन नदी होस् वा मिसीसिपी नदी होस् वा नाइल नदी वा भारतमा बहने ब्रम्हत्र नदी होस् वा गंगा वा कावेरी नदी विश्वमा वहने नदी किनारका कुनै पनि शिला नै किन नहुन् ती शिलाहरु एकै आकार प्रकार रहेका शिलाहरुको वजन भन्दा त्यही आकार प्रकारका काली गण्डकी नदी किनार वा गर्भगृह भित्र रहेका शिलाको वजन बढी गह्रौं हुन्छ । बढी वजन हुनुको सामिप्यता ढुङ्गा वा शिलाको आयुसंग सामिप्यता राख्दछ । काली गण्डकी नदीका गर्भगृंहमा रहेका शिलाहरु आपसी प्राकृतिक टकरावबाट बालुवा बन्दछ । यो बालुवाको आयु पनि अन्य वालुवाको आयु भन्दा लामो रहने अर्थात बढी समय टिक्ने गर्दछ ।
नदी आफैमा अनुपम जलस्रोत हो ।आफ्नो वहाव क्षेत्रमा यस नदीले दाया वाया आसपासका धेरै क्षेत्रहरु जल सिंचन गर्दै आएको छ भने यस नदीको गर्भगृहमा रहेका शिलाहरु पनि प्रकृति प्रदत्त निश्चित परिमाणमा रहेको काली गण्डकी नदीको गर्भगृहमा प्राकृतिक रुपमा रहेका शिलाहरुलाई केही वर्ष यता कुटानी फुटानी गरेर कंक्रीट बनाउने काम हुदै आएको छ । काली गण्डकी नदीको गर्भ गृहबाट शिलाहरु निकाले कंक्रिट बनाउने कार्य नरोकिने हो भने बालुवा बन्ने प्रक्रिया अवरुद्द हुने र नदी पनि तीव्रतर गहिरिंदै जाने गर्छ । नदी गहिरिंदै जाँदा आसपास किनार र सो को प्रभावित क्षेत्र समेतका जलाशययुक्त पानीका मूलहरु वा पानी मूलका स्रोतहरु क्रमशः सुक्दै जाने र निकट भविष्यमा काली गण्डकी नदी माथि नै पानी संकट आउने संभवना बढेर गएको छ । शिलाहरु निकाल्दै जाँदा नदी गहिरने र आसपास क्षेत्र पहिरोको उच्च जोखिममा रहने हुन्छ भने नदी गहिरिएर जाँदै गर्दा कालान्तरमा नदी नै सुक्ने वा विलय हुने हालसम्मका संकेतहरुले प्रष्ट गरेकाछन् । काली गण्डकी नदी माथि एक्सावेटरको प्रयोग र यो नदि किनारमा क्रसर मेशिन राखी शिलाहरु फुटाई गिटी बनाउने प्रक्रियाले नदीको प्राकृतिक संतुलन माथि आँच आइरहेको छ । जलमा आधारित जीवहरु माछा जलहाँस समेतका जलचर आदि प्राणीहरु विलयका प्रक्रियामा छन् ।हिंउदकालीन समयमा आफ्नै गतिमा सवच्छ र निर्मल भई वहने काली गंगा यो समय पनि धमिलो बनेर वहन्छ ।मानवीय कारणले प्रकृतिको नदी रंग समेत धुमिल हुंदा नदी स्वच्छता र निर्मलताको वातावरणमा प्रत्यक्ष असर परेको छ भने धर्मावलम्विहरुका लागि स्नानादि तथा जल सेवानादि कार्यमा बाधा आइरहेको छ ।
शालग्राम शिलाहरु पाइने एक मात्र नदी विश्वमा एक मात्र नदी काली गण्डकी नदी हो ।यसै नदी क्षेत्रमा रही चक्रवर्ति राजा भरतले राजशासन गरेका कारण भारत नाम रहेको यसै क्षेत्रबाट भारतीय संस्कृति समेत फैलेको हुनाले यस नदी क्षेत्रलाई विश्व संपदा सूचिमा सूचिकृत गर्न अनिवार्य छ ।यस बाहेक पुराणहरुमा जड भरतले तपस्या गरेका मृग रुप लिएका साथै कालाजित क्षेत्र भनी चिनिने ठाऊँ पनि काली गण्डकीको कालाञ्जर क्षेत्र हो । कालीगण्डकी नदीको गर्भ गृहमा पाइने शालग्राम शिलालाई हिन्दुहरु भगवान विष्णुको अवतारको रुपमा लिने गर्छन् । सबै पुराण तथा उपपुराणहरु उपनिषदमा शालग्रामको महिमाको चर्चा गरिएको छ । देख्दा भिन्नै प्रकृतिको शिला लाग्ने शालग्राम शिला विभिन्न रंग र आकार प्रकारमा विविध चक्रहरुले सुशोभित भइरहेको प्रतित हुन्छ । प्राकृतिक रुपमा चक्रनाभ भएका शिलाहरुलाई कतिपय हिन्दूहरुले अलौकिक शिलाको रुपमा लिने र दिव्य देवता वा भगवानको साक्षत रुपमा पुज्ने गरेको पनि पाइन्छ । भगवान कृष्ण यस काली नदी क्षेत्रमा आएका र सो शिलाको अध्ययन अवलोकन पश्चात आफू त्यस शिलामा समाहित छु भन्ने भनाईले सो चक्रनाभिय शिलाहरु प्राणीहरुको सबै भन्दा पुरानो पूर्वज वा जीवाशेष हुने संकेत गर्दछ । भारतको नर्मदा नदीमा पाइने नर्मदेश्वर शिला पनि यस काली गण्डकी नदी किनारमा पाइन्छ । यसरी यो नदीमा नर्मदेशवर शिवलिंग शिला पाइने हुदा शिव नदी पनि भन्न सकिन्छ । शालग्राम प्रसवण क्षेत्र उत्तरमा दामोदर हिमाल देखि दक्षिणमा चितवन माडी सम्मको भागमा पाइने हुनाले यस क्षेत्रलाई शालग्राम क्षेत्र भन्नु पर्ने हुन्छ । शालग्राम आफैमा प्राकृतिक शिला रहेको र रहस्यात्मक चक्रनाभहरु रहदा आम जनमानसमा महत्वपूर्ण बन्दै आएको र विश्वका बैज्ञानिकहरुको अनुसंधानको विषय समेत बन्दै आएको छ ।यसरी एकताका प्राणीको सृष्टिको अनुसंधानकै क्रममा रहदा यस्ता जीवशेषहरुलाई पिंध्नु फुटाउनु वा कंक्रिट बनाउनु कदापि उचित र साँदर्भिक हुदैन । नदी किनारमा शालग्राम कुट्ने पिंध्ने वा कंक्रिट बनाउन नदी किनारमा डोजर वा एक्सावेटर लगाई शिला उठाउने र नदी किनारमा नै मेशिन राख्न अनुमति दिने क्रिया नै अन्तराष्ट्रिय मापदण्ड विपरित हो ।
पुराणहरुका अनुसार अहिलेको मानव अस्तुलाई सो शालग्रामसंग साक्षात्कार गराउनु पितृ तर्पण सार्थक पनि हुनु हो । अहिले भारतको अयोध्यमा गण्डकीका शालग्राम शिला लगिएकोले यसको विश्वब्यापी प्रचार भएको छ भने नेपालका धेरै जिल्लामा पनि शालग्राम शिला लैजाने र पुज्ने क्रम बढ्दो छ ।
काली गण्डकी नदी ऐतिहाँसिक नदी हो । काली माताको उदय कालाञ्जर क्षेत्रमा भएको पुराणहरु उल्लेख गर्छन् । उनै काली माताको नामबाट काली नदीको नाम काली रहन गएको भन्ने विषयमा कुनै फरक मत छैन तसर्थ यस नदीलाई काली गण्डकी नामले पनि संवोधन गरिएको छ । गण्डकी नाम गाण्डिव ऋषिद्दारा यसै क्षेत्रमा बसी तपस्या गरेका र गालाबाट चुहिएको पसिनाबाट गण्डकी नाम रहेको किंवदन्ति छ ।काली माताको शरणागत भई भगवान कृष्ण विराजित भएको वा भगवान विष्णु शालग्राम शिलारुपमा स्थित रुपमा रहेको पुराण वचनहरुले काली गण्डकी नदी विविध विशेषता बोकेको ऐतिहाँसिक नदी हो । नर्मदा नदीमा पाइने शिला यसै नदी क्षेत्रमा समेत पाइने हुनाले शिवादि देव महादेवको दर्शन हुन्छ । एउटै नदीमा देवी माता काली र शालग्राममा विद्यमान महादेवीको दर्शन भगवान विष्णु तथा कृष्णको दर्शन अतुलनीय दर्शन हो । भारतीय सभ्यता र संस्कृतिको विकास पनि यसै शालग्राम क्षेत्रबाट भएको हो ।भारतीय महाद्दिपको पहिचान दिन सफल रहेको काली गण्डकी नदीको संरक्षणको शुरुवात शालग्राम शिलाको संरक्षणबाट मात्र संभव छ ।
मानवीय क्रियाकलापद्दारा शालग्राम शिलामा आउने संकटले यसको रुप अदल वदल हुनु बालुवा बन्ने प्रक्रिया अवरुद्द गर्नु वा काली नदी सुक्नु वा शिलाको चरम उत्खननले आसपास क्षेत्रमा पहिरो जानुले प्राणी वा मानव जगतमा प्रत्यक्ष असर पार्दछ । तसर्थ संवन्धित सरोकारवाला निकाय संघ संस्था वा आम नागरिक शालग्राम शिलाको संरक्षण नै भारतीय उपमहाद्दिपको सभ्यताको संरक्षण हो भन्ने विषयलाई प्रष्टसंग बुझ्नु जरुरी छ । शालग्राम शिलाको संरक्षण विना काली गण्डकी नदीको संरक्षण हुन नसक्ने भएकोले काली गण्डकी नदीको गर्भगृहमा रहेका सबै प्रकारका शिलाहरुको संरक्षणमा जुट्न अनिवार्य बनिसकेको छ ।शालग्राम शिलाको प्रचार प्रसार गरी शालग्राम संवन्धी विश्व जगत सम्मेलन मार्फत शालग्रामको महिमा महत्व दर्शाई काली गण्डकी नदीलाई विश्व साँस्कृतिक नदी तथा विश्व सम्पदा सूचिमा समावेश गरी सबै प्रकारका शालग्रामलाई संरक्षण गर्नु पर्दछ ।
लेखकः यज्ञ बहादुर थापा अधिवक्ता समेत हुन् ।