भारतीय ध्रुव हेलिकप्टर अरव सागरमा खस्यो, तीन जना वेपत्ता

5
views

१८, भदौ
एजेन्सी, गुजरात । भारतीय कोस्ट गार्ड (आईसीजी) को एक उन्नत लाइट हेलिकप्टर (ध्रुव) गुजरातको पोरबन्दर तटनजिक अरब सागरमा खसेको छ । हेलिकप्टरमा रहेका ४ जना चालक दलका सदस्यमध्ये ३ जना बेपत्ता छन् । एकजनाको उद्धार गरिएको छ ।

घटना सोमबार भएको हो । आईसीजी ले मंगलबार बिहान सोशल मिडिया प्लेटफर्म एक्समा दुर्घटनाको बारेमा जानकारी गराएको हो ।
हेलिकप्टरको भग्नावशेष फेला परेको छ । अधिकारीहरूका अनुसार हेलिकप्टर पोरबन्दर तटबाट ४५ किलोमिटर टाढा एक कार्गो जहाजमा उद्धार अभियानको लागि गएको थियो । हेलिकप्टरमा २ जना पाइलट र २ गोताखोर सवार थिए । जसमध्ये १ जना गोताखोरको उद्धार गरिएको छ ।
गार्डले दुई पाइलट र एक गोताखोरको खोजीका लागि ४ जहाज र २ वटा विमान पठाएको बताएको छ । हेलिकप्टरले हालै गुजरातको बाढी प्रभावित क्षेत्रबाट ६७ जनालाई उद्धार गरेको थियो ।
कोस्ट गार्डका अनुसार कार्गो जहाज हरिलीलाका चालक दलका सदस्य घाइते भएका छन् । उनलाई उद्धार गर्न सोमबार राति ११ बजे हेलिकप्टर गएको थियो ।
उन्नत लाइट हेलिकप्टर (एएलएच) लाई ध्रुव भनिन्छ । कोस्ट गार्ड, सेना र नौसेना सबैले यसको प्रयोग गर्छन् । यसको निर्माण कम्पनी हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल) ले हालै सेनाको एएचएल फ्लीटमा सुरक्षा सम्बन्धी महत्वपूर्ण अपग्रेडहरू गरेको थियो ।
गत वर्ष ध्रुव हेलिकप्टर डिजाइनमा समस्याका कारण धेरै दुर्घटनामा परेपछि यसको सुरक्षामा प्रश्न उठेको थियो । २०२३ को मे महिनामा सेनाले ध्रुव हेलिकप्टरको सञ्चालन एक महिनाका लागि रोकेको थियो ।