असिनापानीले धानबालीमा असर, कृषि ज्ञान केन्द्र स्थलगत अनुगमनमा

7
views

नवदृष्टि संवाददाता
६, कार्तिक
पर्वत । केहिदिन अगाडीको मौसमको फेरवदलले पर्वतका किसानले लगाएको धानबालीमा प्रभाव पारेको छ । पर्वतका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको बताईएपछि लगत तथ्याङ्क संकलन,स्थलगत अनुगमनमा कृषि ज्ञान केन्द्र खटिएको छ ।

जिल्लाको कुश्मा र फलेवास नगरपालिका, जलजला, मोदी र महाशिला गा“उ पालिकाका विभिन्न ठाउ“मा असिनापानीले क्षति पुर्याएपछि ज्ञान केन्द्र कुश्मा पर्वतको टोली स्थलगत अनुगमनमा गएको हो ।
कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छ भने कतिपय ठाउ“मा पाकेको धान झारेर नष्ट भएको लगत संकलन अनुगमनमा ज्ञानकेन्द्रका कार्यलय प्रमुख सहितको टोली मंगलबार महाशिला पुगेको छ । जिल्लाको महाशिला गाउ“पालिकाका वडा नम्वर ४, ५, ६ मा लगत संकलन कार्य र स्थलगत अनुगमन भईरहेको कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जनाएका छन् ।
महाशिलाका ती वडाहरुमा असिनापानीले झण्डै ९० प्रतिशत धान झारेको बताइएको छ । यस वर्ष समयमै मनसुन सुरु भएकाले समयमै रोपाइ गरेका कारण धान उत्पादनसमेत बढ्न अनुमान गरिएको भए पनि असिनापानीले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्र प्रमुख अधिकारीले स्थानीय तह रहेका कृषि शाखाहरूले तथ्याङ्क सङ्कलनको काम गरिरहेकाले केही दिनमा क्षतिको यकिन तथ्याङ्क आइपुग्ने बताए ।