नवदृष्टि संवाददाता
पर्वत, १६, मंसिर
विद्यार्थीहरुलाई व्यवहारिक तथा व्यवसायिक ज्ञान, सिप दिलाउने उद्धेश्यले जिल्लाको कुश्मानगर पालिका–९ स्थित कटुवाचौपारीमा रहेको आईबल एकेडेमी विद्यालयले शुक्रबार एकदिने नमुना हाट बजार संचालन गरेको छ ।
आईबल एकेडेमीका कक्षा ६ देखि १० सम्मका विद्यार्थिहरुले घरमा अभिभावकले कृषिजन्य उत्पादन गरेका बस्तुहरु तथा उत्पादित बस्तुबाट बनेका परिकारहरु बनाएर बिक्रि गरेका थिए ।
स्थानिय स्तरमा कृषिजन्य उत्पादन गरेका बन्दा, काउली, रायो, मुला, गाजर, सुन्तला, तरुल, विडालु तरकारी विक्रीका लागि ल्याईएको थियो भने,पकौडा, मःम, सेल, पुरी, तरकारी मासुका बिभिन्न परिकारहरु पकाएर पनि बिक्रि गरेका थिए । हाट बजारमा घरबाट ल्याएका सबै बस्तुहरु बिक्रि गरेर राम्रो आम्दानी भएिपछि विद्यार्थिहरु उत्साहित देखिएका थिए ।
१२वटा समुहमा गरिएको कार्यले रु १००० देखी रु.३५०० को बिचमा आम्दानी गरेको विद्यालयले जनाएको छ ।
हामी निकै उत्साहित छौ, स्थानिय उत्पादन राम्रो बिक्रि भयो, हामीले घरबाट ल्याएका सबैचिज बिक्री गर्यौ विद्यार्थिहरुले भने । त्यस्तै विद्यालयका प्रिन्सिपल विमल पौडेलले विद्यार्थिहरुलाई व्यवहारिक तथा व्यवसायिक ज्ञान, सिप दिने र स्थानिय उत्पादनलाई प्रर्वद्धनपनि हुने भएकाले हाट बजार संचालन गरिएको बताए ।
पौडेलले सानै उमेरदेखी विद्यार्थीहरुलाई कृषि कर्ममा प्रेरित गर्न सके उनीहरुलाई मिहिनेतको पाठ सिकाउनुका साथै घरमा लामो समयसम्म मोबाइल/ ल्यापटपमा अनावश्यक रुपमा बिताउने समयको सदुपयोग गर्दै “पढ्दै कमाउदै ” को अवधारणालाई साकार पार्न सहजहुनेमा जोड दिएका थिए ।
सो हाट बजारले शिक्षक, अभिभावकहरुमा खुसीयाली छाएको थियो । स्थानिय उत्पादन स्थानिय स्तरमा नै बिक्री हुदा राम्रो लागेको अभिभावक बताउछन् । सो हाट बजारमा विद्यार्थि, अभिभावक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । विद्यालय ब्यबस्थापन समितिका निवर्तमान अध्यक्ष घनश्याम शर्मा लामिछाने , कुश्मा ९ का अगुवा कृषकहरु भोला पराजुली , मिन प्रसाद भुसाल, होटल व्यावसायी नल प्रसाद सुबेदी, कुश्मा -१० का वडा सदस्य डम्मरु शर्मा लामिछाने लगायत अभिभावकहरुले नमुना हाट बजारले धेरै राम्रो ज्ञान सिकाएको बताएका थिए ।