क्रान्तिकारी पत्रकार महासंघ र प्रेस सेन्टर पर्वत निर्वाचनबाट बाहिरिए

1
views

पर्वत, २७, मंसिर । क्रान्तिकारी पत्रकार महासंघ, पर्वत र प्रेस सेन्टर नेपाल, पर्वतले नेपाल पत्रकार महासंघ शाखा पर्वतको निर्वाचनबाट बाहिरिएका छन् । मुलुकको लोकतान्त्रिक व्यवस्था प्राप्ति र सुदृढिकरणका लागि अमूल्य योगदान पुर्याउँदै आएको श्रमजीवि पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन यहि मिति २०८१ साल मंसिर २८ गते हुँदै छ ।

गएका निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारी पर्वतसँग भएका लिखित सहमतीलाई मृत्युको इतिहास बनाएर प्रेस युनियन र प्रेस चौतारी पर्वतले समेत संख्यात्मक दम्भका आधारमा गठवन्धन गरी औपचारीकतामा सिमित गर्न लागेपछि क्रान्तिकारी पत्रकार महासंघ पर्वत र प्रेस सेन्टर नेपाल पर्वत निर्वाचनमा सहभागी नभएको हो ।

क्रान्तिकारी पत्रकार महासंघ पर्वत र प्रेस सेन्टर नेपाल पर्वतका जिल्ला अध्यक्ष गोपाल जिसी र निर्मल पौडेल, श्रमजीवि पत्रकार महेन्द्र जिसी र यज्ञ वहादुर थापाद्वारा हस्ताक्षरीत विज्ञप्ती जारी गर्दै शाखाको निर्वाचनमा सहभागि नहुने जनाएका हुन् ।

संयुक्त प्रेस विज्ञप्तीमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकअधिकार हनन् हुन नदिई स्थापित गर्न श्रमजीवी पत्रकारहरुले कलम चलाउदै आएको आवाजविहीनहरुको आवाज बोल्ने यस संस्थालाई हामी सवै सञ्चारकर्मी÷पत्रकारहरुले आत्मसात गर्दै आएको उल्लेख गरेका छन् ।

साथै लोकतान्त्रिक राज्य व्यवस्थामा देखापर्ने सामाजिक विकृति र विसंगतिका विरुद्ध आवाज बुलन्द गर्दैैै नागरिक समाजलाई सहि दिशाबोध गर्ने अहंम जिम्मेवारी श्रमजीवि पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन सर्वसहमतिबाट गर्नुपर्ने हामी सबैको दायित्व हुँदाहुँदै यो संस्था दलिय गठवन्धनबाट अछुतो नरहेको आरोप समेत लगाएका छन् ।

पर्वतमा पनि साझा सहमतीबाट जाने परिस्थिति र विगतका लिखित सहमती हुँदाहुँदै संख्यात्मक दम्भकै अधारमा अन्तत गठवन्धन मार्फत नै नेतृत्व चयन हुने स्थितिमा पुगेको भन्दै प्रेस विज्ञप्ती मार्फत घोर भत्र्सना गरेका छन् ।

गठवन्धनबाट अनुभवि, कलमजीवि, श्रमजीवि पत्रकारहरुलाई बाहिर राखेर नेतृत्व हत्याउन जोडबल गर्नुका पछाडी रहेको भन्दै आम नागरिकका बीच प्रश्न चिन्ह राखेका छन् ।