नेपाल एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेटको सेमिफाइनलमा

3
views

नवदृष्टि संवाददाता
१, पुष
काठमाडौ । प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले हराउदै नेपाली टोली एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको ‘सुपर–४’ चरण (सेमिफाइनल) मा प्रवेश गरेको   छ । मलेसियामा जारी उक्त प्रतियोगिताको सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तान पनि छन् । पाकिस्तानी टोली आफूले खेलेको दुवै खेलमा पराजित भएकाले नेपाल अन्तिम खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको पहिलो दिन आइतबार खेलिएको खेलमा भारतले पाकिस्तानलाई नौ विकेटले हराएको थियो । भारत दुई अंकसहित पहिलो र नेपाल दुई अंकसहित दोस्रो स्थानमा छन् ।
टस जिती ब्याटिङको निर्णय लिएको पाकिस्तानले निर्धारित ओभरमा पाच विकेट गुमाएर एक सय चार रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९ ओभरमा केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो । नेपालको जितमा कप्तान पूजा महतोले अविजित ४७ रनको योगदान गरिन् । उत्कृष्ट पाली खेलेकी कप्तान पूजाले ४७ बलको सामना गरी तीन चौका पनि हिर्काइन् । सोनी पाख्रिनले पनि टोलीको खातामा १३ रन थपिन् । उनले २० बलमा एक चौका प्रहार गरिन् ।ओपनर सावित्री धामीले आठ रन लिईन् । सिमाना केसीले पनि टोलीका लागि १२ बलमा अविजित १२ रनको योगदान गरिन् । ओपनर साना प्रविनले पनि १५ बलमा एक चौकाको मद्दतले १० रन बनाइन् । नेपालले अतिरिक्त रूपमा पनि १५ रन पायो । पाकिस्तानका लागि ओपनर कोमल खानले सर्वाधिक ३८ रन बनाएकी थिइन् । उनले ४४ बलमा दुई चौका पनि प्रहार गरिन् । महाम एनिसले पनि टोलीको खातामा अविजित २९ रन थपिन् । उनले ३७ बलमा दुई चौका हिर्काइन् । राविल फरहानले १३ र कप्तान जुफिसान आयाजले १२ रन बनाए । फातिमा खान ६ रनमा अविजित रहिन् । नेपाली टोलीकी बलर पूजा महतोले दुई विकेट लिइन् । रचना कुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले पनि एक–एक विकेट लिएका थिए ।
आठ दिनसम्म चल्ने प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–४’ चरणमा प्रवेश गर्नेछन् । प्रतियोगितामा वरीयता निर्धारणका लागि पनि खेल हुनेछ ।